२०८३ जेष्ठ १० गते, आईतवार २१:२२

कार्यसम्पादनमा अब्बल बन्दै पर्सा प्रहरी, मधेश प्रदेशमै “सर्वोत्कृष्ट” घोषित

वीरगंज/जिल्ला प्रहरी कार्यालय पर्सा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनअन्तर्गत मधेश प्रदेशका जिल्लामध्ये वैशाख महिनामा “सर्वोत्कृष्ट” घोषित भएको छ। उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जिप्रका पर्सालाई प्रशंसापत्रसहित सम्मान गरेको हो।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी थपलियाका अनुसार अपराध नियन्त्रण, अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापन, फरार अभियुक्त पक्राउ, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम तथा समग्र प्रहरी सेवा प्रवाहका सूचकहरूमा पर्साले उल्लेखनीय कार्यसम्पादन गरेपछि उक्त मूल्यांकनमा उत्कृष्ट स्थान हासिल गरेको हो।

पछिल्लो समय पर्सा प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, संगठित अपराध अनुसन्धान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै आएको छ। जसका कारण कार्यालयको कार्यसम्पादन प्रदेशस्तरमै उत्कृष्ट मूल्यांकनमा परेको प्रहरी स्रोतको भनाइ छ।

सम्मानपछि प्रहरी उपरीक्षक सुदीप राज पाठकले प्राप्त उपलब्धिले सम्पूर्ण प्रहरी टोलीलाई अझ जिम्मेवार र उत्साहित बनाएको प्रतिक्रिया दिएका छन्। उनले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर व्यावसायिक, पारदर्शी र परिणाममुखी प्रहरी सेवा प्रवाहलाई निरन्तरता दिइने बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM