वीरगंज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठक तनावग्रस्त बनेपछि केही प्रतिनिधिसभा सदस्यलाई कार्यकर्ताले बैठकस्थलबाटै बाहिर निकाल्ने प्रयास गरेका छन्। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।
कलैयामा शनिबार आयोजित विस्तारित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल तथा नेता चन्दन सिंह सहभागी भएका थिए। बैठकमा संस्थापक समूह र वर्तमान नेतृत्व पक्षबीच लामो समयदेखि देखिएको असन्तुष्टि पुनः सतहमा आएपछि विवाद चर्किएको सहभागीहरूले बताएका छन्।
बैठकका क्रममा नेताहरूले संस्थापक पक्षलाई दबाबमा राख्न खोजेको आरोप लागेपछि कार्यकर्ताहरू आक्रोशित बनेका थिए। त्यसपछि केही कार्यकर्ताले सांसदहरूलाई धक्का दिँदै बैठकस्थलबाट बाहिर जान बाध्य बनाएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।
स्थिति थप तनावपूर्ण बनेपछि प्रहरी टोली बैठकस्थलमा पुगेको थियो। प्रहरीले सांसदहरूलाई सुरक्षा घेराभित्र राख्दै घटनास्थलबाट बाहिर निकालेको बताइएको छ।
यसअघि रास्वपा बाराका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएको विषयलाई लिएर जिल्ला संगठनभित्र तीव्र असन्तुष्टि बढ्दै गएको थियो। पछिल्लो घटनाले जिल्लाभित्रको आन्तरिक विवाद झन् गहिरिएको संकेत गरेको छ।















