काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्ने विषयवस्तु (कन्टेन्ट) तयार पार्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् ‘च्याटजीपीटी’ को प्रयोग बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई सचेत गराएको छ।
संसद्मा प्रभावकारी र तथ्यपरक विषय उठान गर्नुको साटो प्रविधिको अत्यधिक भर पर्न थालेको भन्दै पार्टीले आइन्दा त्यसो नगर्न निर्देशन दिएको हो।
रास्वपा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले सांसदहरूलाई संसद्मा बोल्ने विषयवस्तु आफैँ अध्ययन गरेर तयार पार्न र च्याटजीपीटीको सहारा नलिन सचेत गराएकी हुन्।
संसद्मा एआईद्वारा उत्पादित सामग्रीको भरमा भाषण गर्ने क्रम बढेपछि पार्टीभित्र र बाहिरसमेत प्रश्न उठ्न थालेको थियो।
रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले पार्टीको आन्तरिक ग्रुप तथा अनौपचारिक छलफलका क्रममा सांसदहरूलाई आफ्नै अध्ययनका आधारमा मात्रै प्रस्तुत हुन निर्देश गरेकी छन्।
“विषयवस्तु नभएको अवस्थामा संसद्मा नबोले पनि हुन्छ, तर च्याटजीपीटीको भरमा बोल्न आवश्यक छैन,” धितालको भनाइ उद्धृत गर्दै ती सांसदले भने।
संसद्मा सबैभन्दा ठुलो दलका रूपमा रहेको रास्वपाका सांसदहरूले प्रविधिको प्रयोग गरेर भाषण तयार पार्ने गरेको चर्चा चलेपछि यसले नयाँ बहस सिर्जना गरेको छ।
पार्टीले आफ्ना जनप्रतिनिधिहरूलाई प्रविधिको अन्धधुन्ध नक्कल गर्नुभन्दा जनसरोकारका मुद्दामा आफैँ अध्ययनशील बन्न आग्रह गरेको बुझिएको छ।















