काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, गैरकानुनी दबाब सिर्जना गर्ने तथा प्रभावमा पार्न खोज्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट चेतावनी दिएको छ।
प्रधानमन्त्री कार्यालयद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा दैलेख जिल्लाको दुल्लु नगरपालिका-१३ का वडा सचिव कमल भण्डारीलाई “प्रकाश खड्का” नाम गरेका व्यक्तिले फोनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गर्दै अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय, त्रास र अनुचित दबाब सिर्जना गर्ने गतिविधि पूर्ण रूपमा अस्वीकार्य रहेको जनाइएको छ। साथै, यस्तो कार्यमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई निर्देशन दिइसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
कार्यालयले सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलप्रति सरकार दृढ रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको पहुँच, शक्ति वा प्रभावको आडमा प्रशासनिक कामकारबाही प्रभावित पार्ने प्रयास सह्य नहुने स्पष्ट पारेको छ।
त्यस्तै, प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन, भेटघाट वा अन्य माध्यमबाट दबाब सिर्जना गर्न खोजिएमा त्यसको सत्यता आधिकारिक माध्यमबाट प्रमाणीकरण गर्न तथा यस्ता घटनाबारे तत्काल सुरक्षा निकाय वा प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउन सबै सरकारी निकाय र कर्मचारीलाई आग्रह गरिएको छ।
प्रधानमन्त्री कार्यालयले राज्यको प्रशासनिक गरिमा, संस्थागत साख र विधिको शासनमाथि आँच पुग्ने कुनै पनि गतिविधिविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने प्रतिबद्धता समेत व्यक्त गरेको छ।















