२०८३ बैशाख १० गते, बिहीबार २१:१०

भारत नरकको ढोका हो: ट्रम्प

काठमाडौँ/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनलाई ‘नरकको ढोका’ भन्दै विवादास्पद टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गरेको एक पत्रमा जन्मको आधारमा नागरिकता दिने प्रणालीको आलोचना गर्दै भारत, चीनलगायतका देशमाथि कडा टिप्पणी गरेका हुन्।

उनले सामाजिक सञ्जालमा एक पत्र सार्वजानिक गर्दै भारत, चीनलगायत संसारका देशबाट अमेरिका आउनेहरुप्रति कडा अभिव्यक्ति दिएका हुन्। उनले ‘क्यालिफोर्निया’को टेक क्षेत्रको उदाहरण दिँदै त्यहाँ भारतीय र चिनियाँ समुदायको प्रभाव निकै बढेको दाबी गरेका छन्। उनका अनुसार, जन्मको आधारमा नागरिकता पाउने व्यवस्थाका कारण आप्रवासीहरुले ठूलो लाभ प्राप्त गरेको बताए।

उनले भने, ‘यहाँ जन्मिएको बच्चा तुरुन्तै नागरिक बन्छ, त्यसपछि उनीहरुले भारत वा चीनलगायत संसारका नरकका ढोका (हेलहोल)हरूबाट आफ्नो पूरै परिवारलाई यहाँ ल्याउँछन्। यो कुरा देख्न धेरै टाढा जानु पर्दैन। अमेरिकाका जुनसुकै शहर हेरे पुग्छ। यहाँ अब अङ्ग्रेजी बोलिँदैन, आजभोलि आउने आप्रवासी वर्गमा यस देशप्रति कुनै वफादारी छैन, जुन पहिले सधैँ यस्तो हुँदैनथ्यो।’

उनले भने, ‘तिनीहरु आजका युरोपेली अमेरिकीहरु र उनीहरुका पुर्खाहरूजस्ता छैनन्। आयरिसहरू घुलमिल भए, इटालीका मानिसहरू घुलमिल भए, पोल्याण्डका मानिसहरू घुलमिल भए, लिथुआनियाली, रोमानियाली र रूसीहरू पनि घुलमिल भए। तिनीहरू सबै ‘मेल्टिङ पट’ (साझा पहिचानमा समाहित हुने प्रक्रिया) मा समाहित भएर अमेरिकी बने। यो ‘मेल्टिङ पट’को अवधारणा अब सकिसक्यो। यो अब केवल फाइदा लुट्ने भाँडो (क्यास-इन पट) मात्र बनेको छ।’

उनले अगाडि थपे, ‘यस्तो महत्वपूर्ण विषय अदालत वा वकिलको हातमा छोड्नु हुन्न, देशव्यापी जनमतसंग्रहमार्फत टुंग्याउनु उचित हुन्छ।’

एक सामाजिक सञ्जाल सर्वेक्षणको उदाहरण दिँदै उनले धेरै मानिसले जन्मका आधारमा पाइने नागरिकता सीमित गर्नुपर्ने मत दिएको बताए। साथै, उनले यस विषयमा अदालत र कानुनी संस्थाहरुले सही निर्णय लिन सक्दैनन् भन्ने संकेत पनि गरेका छन्।

ट्रम्पले क्यालिफोर्नियाको उच्च-प्रविधि (हाइ–टेक) रोजगारीमा भारतीय र चिनियाँहरुको प्रभाव अत्यधिक रहेको दाबी गरे। उनका अनुसार, त्यहाँको भर्ती प्रक्रिया योग्यताभन्दा पनि व्यक्ति कुन देशबाट आएको हो भन्ने आधारमा प्रभावित भइरहेको छ, जसका कारण अन्य मानिसका लागि अवसर घट्दै गएको छ। उनले यसलाई निष्पक्ष नभई केही समूहको पक्षमा झुकेको प्रणालीका रूपमा चित्रण गरेका छन्।

उनले आप्रवासीहरुको अधिकारका लागि काम गर्ने ‘अमेरिकन सिभिल लिबरटिज’ (एसीएलयु) लाई पनि निशाना बनाए। उनका अनुसार, यो संस्थाले अवैध आप्रवासीलाई फाइदा पुग्ने नीतिहरूको समर्थन गर्छ। उनले यस संस्थामाथि कडा कानुनी कारबाही हुनुपर्नेसमेत बताएका छन्। साथै, आप्रवासीहरुले स्वास्थ्य सेवा र अन्य सरकारी सुविधा बढी प्रयोग गर्ने भएकाले यसको आर्थिक भार करदातामाथि पर्ने आरोप पनि लगाए।

ट्रम्पले क्यालिफोर्नियाजस्ता राज्यहरूमा कथित रूपमा वेलफेयर दुरुपयोग भइरहेको र आप्रवासनका कारण साँस्कृतिक तथा भाषिक पहिचानमा असर परेको दाबी गरे। उनले अस्पतालहरुमा आप्रवासीहरुले बढी सेवा लिने र सानो रोगमा पनि ठूलो खर्च देखाएर प्रणालीको दुरुपयोग गर्ने आरोपसमेत लगाए।

जन्मका आधारमा नागरिकता दिने व्यवस्था अमेरिकामा लामो समयदेखि कायम छ। ‘फोर्टिन्थ एमेन्डमेन्ट टु द युनाइटेड स्टेट कन्सिच्युसन’ले अमेरिकामा जन्मनेबितिकै नागरिक बन्ने व्यवस्था गरेको थियो। यो सन् १८६८ मा पारित भएको थियो। त्यसयता अमेरिकामा जन्मिएका सबैलाई नागरिक मान्ने व्यवस्था लागू भएको हो। यसको मूल उद्देश्य दासत्वबाट मुक्त भएका अश्वेत समुदायलाई नागरिकता प्रदान गर्नु थियो। पछि यसको व्याख्या विस्तार हुँदै अमेरिकामा जन्मिने सबै बालबालिकालाई अभिभावकको आप्रवासन स्थिति जस्तोसुकै भए पनि नागरिकता दिने प्रचलन बनेको हो।

यस व्यवस्थाको प्रयोग गरेर गरिब वा द्वन्द्वग्रस्त देशबाट आएका मानिसहरु अमेरिकामा आएर सन्तान जन्माउने र त्यसकै आधारमा बसोबासको कानुनी आधार बनाउने गरेको आलोचकहरु बताउँछन्। यस्तो प्रवृत्तिलाई ‘बर्थ टुरिज्म’ भनिन्छ। पेउ रिसर्च सेन्टरको २०२२ को प्रतिवेदनअनुसार, करिब १६ लाख भारतीय मूलका बालबालिकाले अमेरिकामा जन्मिएका कारण नागरिकता पाएका छन्।

ट्रम्पले सन् २०२५ जनवरी २० मा जन्मका आधारमा दिइने नागरिकता (बर्थराइट सिटिजनशिप) रोक्न आदेश जारी गर्ने प्रयास गरेका थिए। तर, त्यसको केहीदिनमै संघीय अदालतले अस्थायी रूपमा रोक लगायो। त्यसपछि विभिन्न अदालतमा यो विषयमा चुनौती दिइँदै आएको छ र मुद्दा अझै कानुनी प्रक्रियामै रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM