२०८३ असार १३ गते, शनिबार २३:४७

सेनाको गोली प्रहारबाट गैंडाको मृत्यु

नवलपुर (नवलपरासी)। चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ। निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो।

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणअन्तर्गत सेहरी सुरक्षा पोष्टबाट परिचालित टोली गस्ती जाने क्रममा अकस्मात् अर्ध वयस्क बच्चासहितको पोथी गैँडाले टोलीको एक जना सिपाहीलाई आक्रमण गरेको थियो।

आत्मरक्षाका लागि गैँडा धपाउन १४ राउन्ड हवाई फायर गर्दा पनि गैँडा नभागेपछि आक्रमणमा परेका सिपाहीको बचाउका लागि थप दुई राउन्ड गोली चलाउँदा गैँडालाई लागेको निकुञ्जले जनाएको छ। गोली लागेर अन्दाजी २४ वर्षको पोथी गैँडाको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM