२०८३ बैशाख १७ गते, बिहीबार १८:४०

प्रभु हस्पिटलमा विरामीको मृत्यु : मेडिकल काउन्सिलद्वारा डा. मनोज गुप्तामाथि कारवाही

वीरगंज/वीरगंजस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर मा उपचारका क्रममा भएको गम्भीर चिकित्सकीय त्रुटिका कारण एक बिरामीको ज्यान गएको घटनामा नेपाल मेडिकल काउन्सिलले सम्बन्धित चिकित्सकलाई कारबाही गरेको छ।

काउन्सिलले अस्पतालका सञ्चालक तथा चिकित्सक डा. मनोजकुमार गुप्ता लाई ६ महिनासम्म अन्य वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र उपचार सेवा दिन पाउने गरी अनुशासनात्मक कारबाही गरेको हो। फागुन ११ र १२ गते बसेको काउन्सिलको पूर्ण बैठकले घटनासम्बन्धी विवरण, शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विज्ञहरूको राय-सुझाव अध्ययन गरेपछि उक्त निर्णय गरिएको काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देव ले पुष्टि गरेका छन्।

काउन्सिलका अनुसार बाराका ३७ वर्षीय सुरेश साह कानु २०८० कात्तिक १४ गते पित्तथैलीसम्बन्धी समस्या लिएर उक्त अस्पताल पुगेका थिए। तर रोगको स्पष्ट पहिचान तथा आवश्यक परीक्षण नगरी शल्यक्रिया गरिएको प्रारम्भिक निष्कर्ष छ। पित्तथैली निकालिएको भन्दै प्रयोगशालामा पठाइएको भनिए पनि बिरामीका परिवारलाई त्यससम्बन्धी आधिकारिक परीक्षण प्रतिवेदन उपलब्ध नगराइएको आरोप छ।

शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था झन् जटिल बनेपछि उनलाई थप उपचारका लागि अर्को अस्पतालमा लगिएको थियो। त्यहाँ गरिएको परीक्षणबाट शरीरभित्र क्यान्सर फैलिएको तथ्य खुलेको चिकित्सकहरूले बताएका थिए। प्रारम्भिक उपचारमै आवश्यक परीक्षण र सावधानी नअपनाइएपछि बिरामीको अवस्था बिग्रिएको निष्कर्ष चिकित्सकहरूले निकालेका थिए।

उपचार प्रक्रियामा देखिएको त्रुटी र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सुरेश साह कानुको अन्ततः २०८१ साउन ३२ गते निधन भएको थियो। घटनापछि मृतकका आफन्तले न्यायको माग गर्दै २०८१ पुस २८ गते मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएका थिए। सोही उजुरीका आधारमा काउन्सिलले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

छानबिनका क्रममा चिकित्सकीय लापरबाही देखिएको ठहर गर्दै काउन्सिलले अनुशासनात्मक कारबाही गरेको हो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिने यस्ता घटनाले निजी स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर र नियमन प्रणालीप्रति गम्भीर प्रश्न उठाएको भन्दै सरोकारवालाहरूले प्रभावकारी अनुगमन र कडाइ आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM