२०८३ बैशाख १७ गते, बिहीबार ०२:०८

०५६ को आम निर्वाचन: झापाबाट एक पूर्व प्रहरी प्रमुखको अनुभव-जब १९ मतले बदलियो राजनीतिक सन्तुलन

पूर्व प्रहरी महानिरीक्षक रवीन्द्र प्रताप शाहले सामाजिक सञ्जालमा २०५६ सालको आम निर्वाचनको सन्दर्भमा आफ्नो अनुभव सार्वजनिक गरेका छन्। प्रस्तुत छ उहाँको स्मरण जस्ताको तस्तै:

 

०५६ को आम निर्वाचन, झापा जिल्ला(२६ बर्ष अगाडीको एउटा संझना)-

———————————————————

जिप्रका चितवनमा करीब २६ महिना कार्यलय प्रमुखको हैसियतले काम गरेपछि मेरो सरुवा जिप्रका झापाको प्रमुखको रुपमा भयो । मोतिलाल बोहरा सरको कार्यालयको अंतिम अंतिम तिर चितवनको प्रमुखको रुपमा भएको मेरो सरुवा अच्यूतकृष्ण खरेल सर, ध्रुब बहादुर प्रधान सर र फेरी खरेल सर IGP भएको केही समय सम्म पनि यथावत रह्यो । यसरी मैले २६ महिना जति चितवन जिप्रकाको प्रमुखको हैसियतमा काम गरे । त्यसैगरि शेर वहादुर देउवा, लोकेन्द्र बहादुर चन्द, सूर्य बहादुर थापाको सरकार प्रमुख र गृहमंत्री खुम बहादुर खड्का, वामदेव गौतम, बुध्दीमान तामांग हुंदै फेरी खुम बहादुर गृहमंत्री भएपछि मात्र चितवनबाट मेरो सरुवा झापा भएको थियो ।

त्रिशंकु संसद(Hung Parliament) को कारण सरकार छिटो छिटो परिवर्तन भैरहन्थ्यो । १९ सिट ल्याएको राप्रपाले सबैभन्दा ठूलो दल एमाले र दोश्रो ठूलो दल कांग्रेसलाई खेलाई खेलाई सरकारको नेतृत्व गरि रहेको थियो । ०५१ देखी ०५६ सम्म मनमोहन अधिकारी देखी गिरिजाबाबु सम्म ६ वटा सरकार बन्यो । यस बिचमा वहालवाला मंत्रीले सरकारको विपक्षमा मत दिएको दृष्य पनि देखियो । पजेरो संस्कृति लगायत संसारमा कतै नदेखिएका बिकृति र बिसंगतीहरु नेपालको संसदमा भित्रियो । सांसदहरुले भरपूर फाईदा लिए | सबैभन्दा बढी फाईदा लिनेमा राप्रपाका सांसदहरु थिए ।

प्रधानमंत्री सूर्य बहादुर थापाको मध्यवधी निर्वाचन गराउने सिफारिश अदालतले बदर गरेपछि गिरीजाबाबुको नेतृत्वमा नेकपा माले सहितको सरकार गठन भयो । सरकार गठन भएपनि गृहमंत्री नपाएपछि केही समय पछि नेकपा माले सरकारबाट वाहिरियो । गिरिजाबाबुकै नेतृत्वमा नेकपा एमाले सरकारमा गयो र आम निर्वाचनको घोषणा भयो ।

०५६ को आम निर्वाचनमा किशुनजी लाई प्रधानमंत्री घोषणा गरेर गएको हुनाले कांग्रेस एकिकृत थियो भने महाकाली संधी संसदले अनुमोदन गर्नु पर्छ भन्ने माधव/केपी समुह एमाले र अनुमोदन गर्न हुंदैन भन्ने बामदेव/सिपी/राधाकृष्ण समुह माले गंठन गरि छुट्टा छुट्टै दलमा विभाजित भए | माओवादीको प्रभाव त्यति थिएन, धर्मशिला लगायत केहीको नाम सुनिन्थ्यो । तर, सबै भूमिगत थिए | राप्रपा क्षेत्र नं ६(केपी वलीको क्षेत्र) र क्षेत्र नं ३(कृष्ण सिटौला/राजेन्द्र लिंगदेन) मा प्रभावी थियो । तर, चुनाव जित्ने हैसियतमा थिएन | विभाजन अगाडी झापामा क़रीब करीब एमालेकै एकछत्र राज जस्तै थियो ।

त्यतिबेला अंचल प्रहरी प्रमुख कृष्ण बस्नेत र प्रमुख जिल्ला अधिकारीमा राम प्रसाद खतिवडा हुनुहुन्थ्यो । कृष्ण प्रसाद सिटौला(पूर्व गृहमंत्री) नेपाली कॉग्रेसका सभापति, देवेन्द्र दहाल(पूर्व भौतिक योजना मंत्री) एमालेका सचिव(प्रमुख) हुनुहुन्थ्यो । केही समयमै मेरो tuning मिलेन र दुबै जना मेरो सरुवा गराउन तर्फ कम्मर कसेर लाग्नु भयो । प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल, गृहसचिव पदम प्रसाद पोख्रेल र गृहमंत्री गोविन्दराज जोशी हुनुहुन्थ्यो । केपी वलीले दहालको कुरा त्यति सुन्नु भएन, सिटौलाको कुरा सुनेर गृहमंत्रीले सरुवा गर्न चाहे पनि प्रहरी महानिरीक्षक खरेल सर नमानेको कारणबाट मेरो सरुवा भएन | गृह सचिव भने तटस्थ हुनुहुन्थ्यो ।सिटौला र दहाल दुबैलाई लाग्थ्यो जिल्ला SP ले चाहे कुनैपनि उम्मेदवारलाई हराउन वा जिताउन भूमिका खेल्न सक्छ | यो धंगधंगी अहिले पनि नेताहरुमा बिध्यमान नै छ | हालै मात्र पनि SP वसुंधरा खड्काको झापा सरुवाको स्वयं केपी वलीले विरोध गर्नु भएको सामाजिक संजालमा देखेको थिएं ।

आम निर्वाचनको मुखमा जिल्ला सभापति मेरो सरुवा नगराई नछोड्ने, प्रहरी महानिरीक्षक खरेल सर सरुवा गर्न मान्दै नमान्ने भएपछि एकदिन गृहमंत्री स्वयं दमक आएर हामी दुबैलाई बोलाएर संगै राखी राम्रोसंग संझाउनु भएपछि मात्र हामी बिचको मतभिन्नता अन्त्य भएको थियो । त्यसपछि भएको आम निर्वाचनमा झापाको ६ सिट मध्य कांग्रेस र एमालेले ३/३ सिट जितेका थिए | १, ३ र ४ मा कांग्रेस(नरेन्द्र नेम्वांग, कृष्ण सिटौला र चक्र वास्तोला) २, ५ र ६ मा एमाले(२ र ६ मा केपी वली, ५ को नाम विर्सिए) | झापामा पहिलो पटक नेपाली कांग्रेसले त्यति राम्रो नतिजा ल्याएको थियो । कतिपय कांग्रेस र एमाले कार्यकर्ताहरुले प्रहरीलाई त्यसको कारण माने । तर, बास्तबिकता त्यस्तो थिएन । कारण थियो कांग्रेसको एकता र एमाले विभाजन । चक्र वास्तोलाले क्षेत्रों ४ मा २६ मत र केपी वलीले क्षेत्र नं २ मा १९ मतको ज्यादै सानो मार्जिनबाट जित हासिल गरेका थिए । २०/२१ महिनाको झापा बसाई पछि मेरो सरुवा उपत्यका अपराध अनुसंधान महाशाखाको प्रमुखको रुपमा भयो। मेरो सरुवा पछि भएको उपनिर्वाचन(एमालेको सबैभन्दा बलियो पकड़ भएको क्षेत्र नं ६)मा समेत कॉंग्रेस विजयी भएर ६ सिट मध्य कांग्रेसले ४ सिट हात पार्यो भने एमाले २ मा खुम्चिएको थियो ।

क्षेत्र नं २ एमाले, कांग्रेस र माले सबैले वरावरी जस्तै मत ल्याए पनि जीत १९ मतले केपी वलीको भयो । चुनाव घोषणा हुने बित्तिकै केपी वलीले “मालेले शून्य सिट ल्याउछ” भन्दै हिड्नु हुन्थ्यो । तर, हामी पत्याउदैन थियौं । कम-से कम वामदेव गौतम, अशोक राई, सिपी मैनाली, आर के मैनाली जस्ताले त पक्कै जित्छन र नेपाल भरी २५ सिट जति ल्याउलान भन्ने हाम्रो अनुमान थियो । हाम्रो अनुमान पुरै फेल खायो । केपी वलीको भबिष्य बाणी शत प्रतिशत मिल्न गयो र लगभग चुनाव अगाडी एमाले जत्रै देखिएको माले चुनाव पछाडी शून्यमा झरेर पाताल भासियो।…

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM