२०८३ बैशाख १८ गते, शुक्रबार ०५:०२

एकता होटल संघको १३औं साधारण सभा र ७औं अधिवेशन साउन १६ मा, नयाँ नेतृत्व चयन गरिने

काठमाडौँ, १२ साउन/ एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपाल को १३औं साधारण सभा तथा ७औं अधिवेशन यही श्रावण १६ गते, शुक्रबार काठमाडौंको होटल कृस्टल पशुपति, गौशालामा सम्पन्न हुने भएको छ।

 संघका अध्यक्ष सरोज आलेलाई उद्धृत गर्दै जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालले दिनु भएको जानकारी अनुसार अधिवेशनमा नयाँ नेतृत्व चयन गरिनेछ।

संघमा गौशाला, सिनामंगल, एयरपोर्ट, कोटेश्वर, बानेश्वर, चाबेल, गौरीघाट लगायतका क्षेत्रमा रहेका करिब चार सय ५० भन्दा बढी होटल तथा गेष्टहाउस व्यवसायीहरू आबद्ध छन्। संघमा सामान्य श्रेणीका होटलदेखि फोर स्टार स्तरीय होटलसम्मको समावेशिता रहेको छ।

अधिवेशनको प्रमुख अतिथिका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सहभागी हुने छन्। त्यस्तै विशिष्ट अतिथिको रूपमा पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता कर्ण शाक्य रहनेछन्।

कार्यक्रममा होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, बागमती प्रदेश होटल व्यवसायी संघका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बराल, साथै काठमाडौं महानगरपालिका वडा नं. ८ र ९ का वडाध्यक्षहरू आशामान डंगोल र रामजी भण्डारी, गौशाला प्रहरी वृत्तका प्रमुख सुकदेव खनाल लगायत अन्य विभिन्न क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

कार्यक्रममा विशेष सम्मान कार्यक्रम पनि राखिएको छ। हालै माध्यमिक शिक्षा परीक्षा एसइइ उतीर्ण  गरेका होटल व्यवसायीहरूका छोराछोरीहरूलाई सम्मान गरिनेछ। त्यस्तै नीति नियमअनुसार उदाहरणीय व्यवसाय सञ्चालन गरेका दुई व्यवसायीहरूलाई विशेष सम्मान प्रदान गरिने संघले जनाएको छ।

संघका अनुसार, अधिवेशनले संगठनलाई थप व्यवस्थित बनाउने रणनीति तय गर्नुका साथै व्यवसायीहरूको हकहितका विषयमा दीर्घकालीन योजना निर्माणमा समेत छलफल हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM