२०८३ बैशाख १९ गते, शनिबार १३:४७

माधव नेपाल विरुद्ध भ्रष्टाचार मुद्दा–सांसद पद निलम्बन

काठमाडौं, १२ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बनमा परेको छ।

आयोगले नेपालसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी अभियोगपत्र दर्ता गरेको हो। अभियोगपत्रमा पतञ्जलीलाई सरकारी मापदण्डविपरीत जग्गा बिक्री गराउन भूमिका खेलेको आरोप नेपालमाथि लगाइएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ को उपदफा (५) अनुसार भ्रष्टाचारको अभियोग लागेपछि कुनै पनि जनप्रतिनिधिको पद स्वतः निलम्बनमा जाने कानुनी व्यवस्था छ। सोही अनुसार नेपालको सांसद पद निलम्बनमा परेको हो।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले यसबारे औपचारिक जानकारी गराउने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ।

नेपालले यसअघि पटक–पटक सार्वजनिक रूपमा आफू कुनै गैरकानुनी कार्यमा संलग्न नरहेको दाबी गर्दै आएका थिए। तर आयोगले गरेको अनुसन्धानका आधारमा उनीमाथि मुद्दा अघि बढाइएको हो।

यो घटनाले नेपाली राजनीतिक वृत्तमा व्यापक चासो र बहस सिर्जना गरेको छ। पूर्वप्रधानमन्त्री तहका नेताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुनु दुर्लभ मानिने सन्दर्भमा यो घटनालाई राजनीतिक र कानुनी रूपमा महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM