काठमाडौं । संसद् पुनः सञ्चालन गर्न नेकपा माओवादी केन्द्रले लचकता देखाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले संसद्को गतिरोध अन्त्य गर्न संवाद र सहकार्यमा केन्द्रित हुने निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् जस्तो संवैधानिक संस्थालाई अवरोधमुक्त राख्न पार्टी प्रतिबद्ध रहेको बताए। “गम्भीर प्रकृतिका विषयमा छानबिन हुनैपर्छ,” सापकोटाले भने, “व्यक्तिगत आरोपभन्दा माथि उठेर यो विषयको संस्थागत समाधान खोज्नुपर्छ।”
उनका अनुसार हाल संसद् अवरोधको विषय बनेको भिजिट भिसा प्रकरणबारे निष्पक्ष छानबिन आवश्यक भएको भन्दै त्यसका लागि राजनीतिक सहमति निर्माण गर्ने प्रयत्न भइरहेको छ। “यो विषयको समाधान संसद् भित्रैबाट खोज्नुपर्छ भन्ने हाम्रो धारणा छ,” सापकोटाले स्पष्ट पारे।
उनले सरकार पक्ष र अन्य विपक्षी दलहरूसँग संवादमार्फत साझा धारणा बनाउन आवश्यक रहेको पनि बताए। बैठकमा संसद् सञ्चालनका लागि सबै पक्षसँग निरन्तर संवाद गर्ने तथा राष्ट्रिय हितका सवालमा पार्टी जिम्मेवार ढंगले अघि बढ्ने निष्कर्षमा पुगेको जनाइएको छ।
प्रवक्ता सापकोटाले संसद् सञ्चालनका लागि सकारात्मक वातावरण निर्माण गर्न संवाद, समन्वय र सहकार्यलाई प्राथमिकता दिने निर्णय भएको बताए।
















