२०८३ बैशाख १९ गते, शनिबार १३:५१

विश्व वातावरण दिवसको अवसरमा विष्णूमती लिंक रोड क्षेत्रमा वृक्षारोपण हुने

उप–प्रधानमन्त्री सिंहको प्रमुख आतिथ्य, विभिन्न संघसंस्थाको सहकार्य

 

काठमाडौँ, १९ जेठ।

विश्व वातावरण दिवस–२०८२ को अवसरमा काठमाडौँको विष्णूमती लिंक रोड आसपास क्षेत्रमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिने भएको छ। वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले यहि जेठ २२ गते बिहान उक्त क्षेत्रमा वृक्षारोपण गरिने आयोजक संस्थाहरूले जनाएका छन्।

‘सुन्दर हरियाली सहर’ को परिकल्पना सहित आयोजना हुने कार्यक्रम नेपाल–ग्रिस मैत्री तथा सांस्कृतिक संघ, काठमाडौँ महानगरपालिका–१९ र जिल्ला होटल व्यवसायी संघ काठमाडौँको संयुक्त आयोजनामा हुने भएको हो। कार्यक्रममा नेपाल सरकारका उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहनुहुनेछ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौँका अध्यक्ष सुरेश बरालका अनुसार, कार्यक्रममा नेपाल खड्की सेवा समितिको मौलिक बाजागाजासहित सांस्कृतिक प्रस्तुति रहनेछ। “बढ्दो जलवायु परिवर्तन र वातावरणीय संकटका बीच वृक्षारोपण जस्ता क्रियाकलापले दीर्घकालीन सन्देश दिन सक्छन्,” अध्यक्ष बरालले भने, “समाजमा सचेतना फैलाउन हामीले यो अभियान अघि सारेका हौं।”

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) को पहलमा हरेक वर्ष जुन ५ तारिखमा विश्वभर मनाइने वातावरण दिवस सन् १९७३ देखि सुरु गरिएको हो। यस वर्ष पनि नेपालभर विविध कार्यक्रमहरू आयोजना हुँदैछन्।

आयोजक संस्थाहरूले सबै सरोकारवाला, स्थानीय बासिन्दा, विद्यार्थी, व्यवसायी तथा युवाहरूलाई वृक्षारोपण कार्यक्रममा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। वातावरण संरक्षणजस्तो सम्वेदनशील विषयमा सामूहिक प्रयास अपरिहार्य भएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM