२०८३ बैशाख २६ गते, शनिबार ०८:५३

भिजिट भिसा प्रकरणले संसदमा विवाद चुलियो, गृहमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध

काठमाडौं — भिजिट भिसाका नाममा भएको कथित अनियमितताले प्रतिनिधिसभा गर्मिएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले मंगलबारको संसद बैठक अवरुद्ध गरेका छन्।

बैठक सुरु हुनासाथ माओवादी केन्द्रसहितका विपक्षी सांसदहरू उठेर विरोध जनाउँदै गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लगाउँदै राजीनामा मागमा उत्रिएका थिए। उनीहरूले घटनामा संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न पनि माग गरे।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए। पुनले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडिएका गम्भीर मुद्दा भन्दै विमानस्थलमा भइरहेको कथित भ्रष्टाचार राजनीतिक संरक्षणबिना सम्भव नरहेको टिप्पणी गरे। उनले गृहमन्त्री लेखकमाथि आरोपको निष्पक्ष छानबिन सुनिश्चित गर्न राजीनामा दिन सुझाव दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्री पदमै रहँदा छानबिन निष्पक्ष हुन नसक्ने भन्दै उच्चस्तरीय आयोगमार्फत अनुसन्धान गर्नुपर्ने बताए। निष्पक्षता कायम गर्न लेखकले पद छाड्नुपर्ने उनको भनाइ थियो।

विपक्षीहरूको चर्को विरोध कायमै रहँदा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बोल्न समय माग गरेका थिए। तर सभामुखले उनलाई बोल्न दिनासाथ विपक्षी सांसदहरू नाराबाजीमा उत्रिएपछि बैठकलाई ३० मिनेटका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM