भक्तपुर — पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी रोशनी शाही आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्।
सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बसिरहेकी शाही आइतबार दिउँसो आफ्नै कोठामा मृत भेटिएकी हुन्।
भक्तपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार कोठाको ढोका लामो समयसम्म नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जनप्रतिनिधिको रोहबरमा ढोका फोड्दा शाही भुइँमा अचेत अवस्थामा भेटिएको र पछि मृत घोषणा गरिएको जानकारी दिए।
प्रहरीका अनुसार उनको कोठा भित्रैबाट चुकुल लगाइएको थियो। केही दिनदेखि उनी घरमै एक्लै थिईन् भने उनका श्रीमान उपत्यका बाहिर गएका थिए। स्थायी घर जाजरकोट रहेको शाहीका सन्तान भने विदेशमा रहेका छन्।
शवमा कुनै किसिमको बाह्य चोटपटक देखिएको छैन। घटनास्थलबाट सुसाइड नोटसमेत फेला परेको जनाइएको छ। मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















