काठमाडौं, ५ जेठ/सरकारले आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बोलाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा साँझ ६ बजे बस्ने बैठकमा अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू समावेश हुने अनुमान गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक नियमित भए पनि, राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा निर्णय हुने सम्भावना उच्च छ। गत बुधबार गठन गरिएको गभर्नर सिफारिस समितिले आजै नाम सिफारिस गर्ने तयारी गरेको छ।
तीन सदस्यीय सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे रहेका छन्। समितिको आज बस्ने बैठकले गभर्नर पदका लागि तीन जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। त्यसपछि तीमध्ये एक जनालाई मन्त्रिपरिषदले नियुक्त गर्ने बताइएको छ।
नयाँ गभर्नर नियुक्तिसँगै राष्ट्र बैंकमा नेतृत्व परिवर्तन हुँदैछ, जसले आगामी मौद्रिक नीतिको तयारी र आर्थिक सुधार योजनामा प्रत्यक्ष प्रभाव पार्नेछ।
















