– बिम्मी शर्मा
राजनीति हो नै संभावना र करिश्माको खेल । जब सबै संभावना सकिन्छ तब करिश्मा हुन्छ । कोही कामले करिश्मा गर्छन् भने कोही नामले । त्यही भएर अभिनेत्री करिश्मा मानन्धरले पनि आफ्नो नामको फाइदा उठाएर राजनीतिक पार्टी बद्लिछन् ।
यो राम्रो कुरा हो दिनभरिमा सत्र चोटी लुगा फेर्नु हुन्छ पार्टी फेर्नु हुँदैन र ? उनको इच्छा हो आफ्नो सोच, दिमाग, बिचार र धारणा अनुरुपकै पार्टीमा गईन् । ठ्याक्कै साडी, चोलो र लिपिस्टिकको म्याचिङ् शेड मिलाए जस्तै । भर्खरै एसएसई परीक्षा पास गरेकी उनले आफु जस्तै आठ कक्षा पास गरेकाको पार्टीमा सामेल भएर आफ्नो बुद्धिको परिपक्वता देखाएकी छन् । अब कुनैदिन उनले नेकपा एमाले पार्टीको लोगोको टाटू बनाएर आफ्नो शरीरमा खोपाउने छिन् र केपी शर्मा ओलीप्रतिको अघोर भक्तिभाव पनि प्रकट गर्ने छिन् भन्नेमा कुनै शँकै छैन ।
सिनेमामा हिरोको अघिपछि नाचेर र हिरोलाई पछ्याएर अनि रुखको पछाडि लुकामारी खेलेरै महान अभिनेत्री भए जस्तै छ करिश्मालाई राजनीतिको रँगमञ्च पनि । अन्य कुनै प्रतीभा र भाषण गर्न सक्ने खुबी नभए पनि आफ्नो सुन्दरता र हाउभाउ कटाक्षले मतदातालाई वशमा पारेर भोट आफ्नो पार्टीको फेवरमा हाल्नेछिन् भन्नेमा ओली महाशय ढुक्क छन् त्यसैले त बाबुराम भट्टराईको पार्टीबाट खोसेर ओलीले उनलाई आफ्नो पार्टीमा ल्याएर ठूलो करिश्मा गरेका छन् ।
अब यसको परिणाम कस्तो आउनेछ यो त चुनाव परिणामले नै बताउने छ । बाबुराम भट्टराईको तत्कालिन नयाँ शक्ति सौन्दर्यको “बोर्नभिटा” बनेर गएकी करिश्मा जतिकै राजनीतिक चातुर्यको ‘कम्पलान’ पिएर पनि आफ्नो हाईट बढाउन नसकेपछि उनलाई शिक्षाको कमीले यस्तो भएको भन्ने वोध भयो । त्यसपछि उनी स्कूल पो जान थालिन् ।
चिचिलै उमेरमा अभिनेत्री बनेकी करिश्माले उतिबेला पढ्न भ्याइनन् । उमेर ढल्केपछि बुढो सुगाले झै एसएसई पास गरेर ठूलै खैलाबैला मच्चाईन् । अनि प्लस टू पढेर परिपक्व पनि भईन् त्यसैले त बाबुराम भट्टराईको पार्टीसँग छोडपत्र गरेर बडो तामझामका साथ एमालेमा प्रवेश गरेर आफ्नो परिपक्वताको करिश्मा नेपाली जनतालाई देखाउँदै छिन् ।
वास्तवमा यो करिश्माको कुनै करिश्मा हैन कि उनको ‘पीँध नभाको लोटा’ जस्तो स्वभावको प्रदर्शन मात्र हो । उनले आफु थालको भण्टा जस्तो एताबाट उता, उताबाट यता लुढ्किरहने स्वभावको भएको सगर्व बताएकी छिन् ।
राजनीतिमा चाहिने नेतृत्व कला हो जो नेतामा त छैन भने अभिनेतामा खोज्नु ठूलो भूल हुनेछ । लुगा फेरे जस्तै पार्टी फेर्न सजिलो छैन र त्यसमा टिकिरहन त झनै गार्हो छ । त्यसैले राजनीतिमा करिश्मा हैन स्थायित्वको आवश्यकता छ । जुन करिश्माबाट आशा गर्नु मुर्खता नै हो ।