वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ रमिता माया गुप्ताले पार्टी परित्यागको घोषणा गरेपछि पर्साको राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भावनात्मक सन्देश सार्वजनिक गर्दै उनले आफू आजदेखि कुनै पनि पार्टी वा संघसंस्थामा आबद्ध नरहेको जानकारी गराएकी हुन्।
उनले फेसबुक पोस्टमा लेखेकी छन्, “आजदेखि कुनै पार्टी वा संघ संस्था मा आवद न रहेको सबै मा जानकारी गराउदै छु र स्वतन्त्र भएर देश र धर्म प्रति अडिक भएर जनताको सेवा गर्ने छु। जय गहवा माइ 🙏”
वीरगंज निवासी गुप्ता राष्ट्रवादी, हिन्दुवादी तथा देशभक्त युवामाझ लोकप्रिय नेतृको रूपमा चिनिन्छिन्। उनको पार्टी परित्यागलाई राप्रपाका लागि पर्सामा ठूलो राजनीतिक क्षतिको रूपमा हेरिएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा राप्रपाले उनलाई समानुपातिकतर्फ मधेशी महिला कोटाबाट सिफारिस गरेको थियो। तर, पछिल्लो समय पार्टीको राजनीतिक कार्यदिशाप्रति उनी असन्तुष्ट रहँदै आएकी थिइन्।
विशेषगरी पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय सहमतिविना हुने निर्वाचनले देशको समस्या समाधान गर्न नसक्ने आशय व्यक्त गरिरहेकै बेला राजसंस्था पुनर्स्थापना र हिन्दू अधिराज्यको एजेण्डा बोकेको राप्रपा भने निर्वाचन प्रक्रियामै सक्रिय रूपमा होमिएको विषयलाई लिएर नेतृ गुप्ता असन्तुष्ट असन्तुष्ट रहँदै आएकी थिइन् ।
यसबाहेक राप्रपा पर्साका केही नेताकार्यकर्ताको कार्यशैलीप्रति समेत उनले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन्। लामो समयदेखि पार्टीभित्र वैचारिक असहमति र संगठनात्मक असन्तोष झेल्दै आएकी गुप्ताले अन्ततः स्वतन्त्र भएर जनताको सेवा गर्ने निर्णयमा पुगेको बताइन्छ।
राजनीतिक वृत्तमा उनको यो कदमलाई सामान्य पार्टी त्यागको घटनाभन्दा पनि वैचारिक असन्तुष्टिको अभिव्यक्तिका रूपमा हेरिएको छ। विशेषगरी हिन्दू राष्ट्र, राजसंस्था र राष्ट्रवादको मुद्दामा सक्रिय युवापुस्तामाझ उनको प्रभाव रहेकाले आगामी दिनमा उनले स्वतन्त्र राजनीतिक अभियान अघि बढाउने सम्भावनाबारे समेत चर्चा सुरु भएको छ।















