२०८३ बैशाख २५ गते, शुक्रबार १९:३०

सम्बन्धको बजारमा हराउँदै गएको संस्कार

– धिरेन्द्र तिवारी 

“सम्पत्तिः चञ्चला नित्यं, नित्यं चित्तं चञ्चलम् ।

संस्कारो हि मनुष्याणां भूषणं भूषणादपि ॥”

अर्थात् सम्पत्ति र मन दुवै चञ्चल हुन्छन्, तर मानिसको वास्तविक आभूषण भनेको संस्कार हो।

दुर्भाग्य, आजको समाजले यही संस्कारलाई पछाडि धकेलेर विवाहलाई प्रदर्शन, प्रतिस्पर्धा र आर्थिक हैसियतको बजारमा रूपान्तरण गरिदिएको छ। परिणामतः सम्बन्धहरू बन्नुभन्दा बढी बिग्रिरहेका छन्। घरहरू ठूला भएका छन्, तर परिवारहरू साना र कमजोर बन्दै गएका छन्। मानिसहरू “योग्य जीवनसाथी” खोज्दै खोज्दै उमेर बिताइरहेका छन्, तर अन्ततः न त अपेक्षाअनुसारको सम्बन्ध भेटिन्छ, न मनको शान्ति नै।

एक समय थियो, जब विवाह केवल दुई व्यक्तिको होइन, दुई परिवारको आत्मीय सम्बन्ध मानिन्थ्यो। केटाको व्यवहार, परिवारको संस्कार, घरको वातावरण र आपसी विश्वासलाई प्राथमिकता दिइन्थ्यो। त्यतिबेला मानिसहरू धनी कम थिए, तर सम्बन्धमा अपनापन धेरै थियो। दुःख पर्दा सम्धी-सम्धिनी एकअर्काको घर पुग्थे, परिवारहरू साथ उभिन्थे, अनि सन्तानहरू संस्कार सिकेर हुर्किन्थे।

आज दृश्य फेरिएको छ…

विवाहको कुरा सुरु हुनासाथ मानौँ कुनै जागिरको अन्तर्वार्ता चल्छ। आफ्नै घर छ कि छैन? गाडी कुन कम्पनीको हो? बैंक ब्यालेन्स कति छ? विदेश जाने सम्भावना छ कि छैन? सामाजिक सञ्जालमा कत्तिको “प्रेजेन्टेबल” देखिन्छ? परिवार कति आधुनिक छ? दिदीबहिनी कति छन्? आमाबुबा सँगै बस्छन् कि अलग?

यी प्रश्नहरू यतिसम्म सामान्य भइसकेका छन् कि अब चरित्र, व्यवहार र नैतिकता गौण बन्न थालेका छन्। विवाह जस्तो पवित्र सम्बन्धलाई आर्थिक परियोजनाको रूपमा हेर्ने प्रवृत्ति बढ्दो छ। यही कारण आज धेरै असल सम्बन्ध केवल “अझ राम्रो आउँछ” भन्ने भ्रममा गुमिरहेका छन्।

पूर्वीय दर्शनले सधैं जीवनमा “सन्तुलन” लाई महत्व दिएको छ। बुद्धले पनि अतिशय इच्छा दुःखको कारण हो भनेका थिए। गीता भन्छ-“अति सर्वत्र वर्जयेत्” अर्थात् कुनै पनि कुराको अति अन्ततः विनाशकै कारण बन्छ। तर आजको समाज ठीक यही अतितर्फ दौडिरहेको छ। अपेक्षाको अति, प्रदर्शनको अति र तुलना गर्ने प्रवृत्तिको अति।

यसको प्रत्यक्ष असर विवाह संस्कृतिमा देखिन थालेको छ। ३० वर्ष नाघ्दासम्म पनि “परफेक्ट” सम्बन्धको प्रतीक्षामा बस्ने प्रवृत्ति बढेको छ। समय बित्दै जाँदा मानिसहरू परिपक्व कम र मानसिक रूपमा थाकेका बढी देखिन्छन्। विवाह उत्साह र आत्मीयताको सम्बन्धभन्दा “अब त गर्नैपर्‍यो” भन्ने बाध्यताजस्तो बन्न थाल्छ। चिकित्सकहरू समेत ढिलो विवाह र ढिलो सन्तानोत्पादनले विभिन्न मानसिक तथा शारीरिक जटिलता बढाउन सक्ने बताइरहेका छन्, तर समाज अझै वास्तविकताभन्दा कल्पनामा रमाइरहेको छ।

अर्को विडम्बना, कुन्डली मिलानको नाममा सम्बन्धहरू तोडिने क्रम पनि बढ्दो छ। जहाँ घर राम्रो हुन्छ, त्यहाँ गुण मिल्दैन; जहाँ गुण मिल्छ, त्यहाँ व्यवहार मिल्दैन। तर मानिसहरू व्यवहारभन्दा अंकलाई ठूलो ठानिरहेका छन्। ३६ मध्ये ३६ गुण मिलाएर गरिएका विवाहहरू पनि टुटिरहेका छन् भने कम गुण मिले पनि धेरै दाम्पत्य जीवन सुखी छन्। आखिर सम्बन्ध टिकाउने कुरा ग्रहले होइन, ग्रहण गर्ने संस्कारले हो।

विडम्बना त अझ के छ भने प्रेम विवाह हुँदा न कुन्डली हेरिन्छ, न जात, न सम्पत्ति। त्यतिबेला “मन” नै पर्याप्त हुन्छ। तर पारिवारिक सम्बन्ध आउँदा समाज अचानक कठोर, परम्परावादी र हिसाबी बन्छ। यही दोहोरो मापदण्डले नयाँ पुस्तालाई आफ्नै समाज र संस्कृतिप्रति प्रश्न गर्न बाध्य बनाइरहेको छ।

निश्चय नै शिक्षा आवश्यक छ, आत्मनिर्भरता पनि आवश्यक छ। तर शिक्षा यदि अहंकारमा बदलिन्छ भने त्यसले सम्बन्ध होइन, दूरी पैदा गर्छ। पैसा जीवनका लागि आवश्यक हो, तर पैसा नै जीवन होइन। मानिसले घर बनाउन सक्छ, तर “घरपन” किन्न सक्दैन। गाडी किनेर प्रतिष्ठा देखाउन सकिन्छ, तर त्यसले सम्बन्धमा माया थप्दैन।

आज समाजले फेरि एउटा गम्भीर प्रश्न आफूलाई सोध्नुपर्छ-“हामी विवाहका लागि जीवनसाथी खोजिरहेका छौँ कि प्रदर्शनका लागि “प्याकेज” ?

हरेक मानिसमा सबै गुण हुँदैनन्। पूर्णता केवल कल्पनामा हुन्छ, जीवनमा होइन। सम्बन्ध भनेको समर्पण, सहकार्य, सहनशीलता र विश्वासको यात्रा हो। जहाँ यी कुरा हुन्छन्, त्यहाँ सामान्य घर पनि स्वर्ग बन्छ; जहाँ यी हुँदैनन्, त्यहाँ महलभित्र पनि मानिसहरू एक्लै हुन्छन्।

यदि समाज अझै पनि आर्थिक चमकधमक, कुन्डलीको भ्रम र अव्यावहारिक अपेक्षाको पछाडि दौडिरह्यो भने आउने पुस्ताले “संस्कार” शब्द किताबमा मात्र पढ्नेछ। सम्बन्धहरू हुनेछन्, तर आत्मीयता हराउनेछ। विवाह हुनेछ, तर परिवार बाँच्नेछैन।

अब घरको आकार होइन, मनको आकार हेर्ने समय आएको छ । बैंक ब्यालेन्स होइन, व्यवहार तौल्ने समय आएको छ । किनकि अन्ततः मानिसलाई जीवनभर साथ दिने कुरा सम्पत्ति होइन, सम्बन्ध नै हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM