२०८३ बैशाख १७ गते, बिहीबार ०४:१५

सीता जयन्ती उपेक्षा गरेर सरकार लैंगिक विभेदमा लाग्यो : सांसद साह

काठमाडौँ/आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जानकी जयन्तीमा बेवास्ता गर्नु सरकारको लैंगिक विभेदीय चरित्रको प्रमाण भएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति प्रश्न उठाउँदै भने, “प्रधानमन्त्रीले आफ्नै जन्मदिन त भव्य रूपमा मनाउनुहुन्छ, तर माता सीता—जो राष्ट्रकी गौरव हुन्—उहाँको जन्मजयन्ती किन उपेक्षित गरिन्छ?”

साहले जानकी जयन्तीको अवसरमा सदनमार्फत देशभरका जनतालाई शुभकामना व्यक्त गर्दै सरकारलाई सोधे, “रामनवमीमा सार्वजनिक बिदा दिने सरकारलाई जानकी जयन्तीको खबर छ कि छैन? सीताको नाममा किन कुनै सम्मानजनक व्यवस्था गरिएको छैन?”

उनले सरकारको ध्यानाकर्षण गराउँदै भने, “२१औं शताब्दीमा लैंगिक समानताको कुरा गर्ने सरकार आफैं सीताको जन्मजयन्ती बेवास्ता गरेर महिलामाथि विभेद गर्दैछ। एउटा राष्ट्रिय विभुति जसको नाममा देशले गर्व गर्छ, उनको सम्मानमा केही गर्न सकिँदैन?”

साहले आफू मन्त्री रहेको बेला सीता जयन्तीलाई क्यालेन्डरमा समावेश गर्न आग्रह गरे पनि तत्कालीन प्रधानमन्त्री ओलीले चासो नदिएको दुखेसो पोखे। “विदा दिन नसकिए पनि क्यालेन्डरमा त उल्लेख गर्न सकिन्थ्यो,” उनले भने, “हाम्रो संविधानले लैंगिक विभेद निषेध गरेको छ। तर सीताको जन्मजयन्तीलाई बेवास्ता गर्नु संविधानको भावना विपरित हो।”

साहले सत्तारुढ दल नेपाली कांग्रेसलाई समेत आग्रह गरे— “अब तपाईहरु सरकारमा हुनुहुन्छ, त्यसैले कम्तीमा राष्ट्रिय विभुतिको सम्मानमा गम्भीरता देखाउनुस्। सीता नेपालको गौरव हुन् भन्नेमा हामी एकमत छौं भने, अबको क्यालेन्डरमा सीता जयन्ती समावेश गरिनै पर्छ।”

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM