२०८३ बैशाख २० गते, आईतवार ०२:०७

गभर्नर नियुक्तिमा असफल सरकारलाई सुशासनको हैसियत छैन : आजपा अध्यक्ष साह

भैरहवा/आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले गभर्नर नियुक्त गर्न नसक्ने सरकारबाट सुशासनको अपेक्षा गर्नु व्यर्थ हुने टिप्पणी गरेका छन्।

रुपन्देहीको पिप्रामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले दुई तिहाई बहुमत प्राप्त वर्तमान सरकार आफैंको बोझ थेग्न नसकेर ढल्न लागेको बताए। “राष्ट्र बैंकमा महिनौंदेखि गभर्नरको पद रिक्त छ, यस्तो महत्त्वपूर्ण जिम्मेवारी पनि समयमा पूरा गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्नु बेमौसमी फूलजस्तो हो,” उनले भने।

साहका अनुसार एमाले र कांग्रेसबीचको सहमतिमा बनेको सरकार गठन भएको दस महिना बितिसक्दा समेत सात बुँदे सहमतिको कार्यान्वयन नहुनु सरकारको असफलताको स्पष्ट संकेत हो। “नीति तथा कार्यक्रम संसद्मा पुगे पनि त्यसप्रति कांग्रेसकै नेताहरु असन्तुष्ट देखिए। यसले सत्ता साझेदार दलकै विचलन स्पष्ट गर्छ,” साहको टिप्पणी थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै साहले कांग्रेस सभापति देउवामार्फत एमालेका ‘कुकर्म’को समर्थन भएको आरोप लगाए। गगन थापालगायत नेताहरू सरकारले अपनाएको शासकीय शैलीप्रति असन्तुष्ट भएर बैठकमा समेत सहभागी नहुन थालेको उनले उल्लेख गरे।

शिक्षक आन्दोलन, विद्यालय कर्मचारीको असन्तोष, बैंक तथा सहकारी पीडित, चिकित्सक र कर्मचारी आन्दोलनलगायतका विषयमा सरकारले चासो नदेखाएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे। “देशमा मिथ्या तथ्यांकको भरमा शासन चलाउने प्रयास भइरहेको छ, यथार्थ अवस्था लुकाउने काम भइरहेको छ,” साहले भने।

साथै, सिमावर्ती क्षेत्रमा सुरक्षाको नाममा सशस्त्र प्रहरीले सर्वसाधारणमाथि ज्यादती गरिरहेको भन्दै उनले त्यसको भर्त्सना गरे। “सरकार मलखाद्यको व्यवस्था गर्न असफल हुँदैछ, तर सीमावर्ती किसानले ल्याएको खाद्यपदार्थ खोस्ने काम सशस्त्र प्रहरीबाट भइरहेको छ,” साहले भने, “सिमाको सुरक्षा गर्ने स्थानीयवासी नै लुटिने अवस्थामा छन्, जुन अति दुःखद हो।”

कार्यक्रमको अध्यक्षता आजपा उपाध्यक्ष डा. उसमानले गरेका थिए। कार्यक्रममा त्रिभुवन साह, नारायण पाण्डे, श्रीभगवान पटेल, विधा शर्मा लगायतका नेताहरूको उपस्थिति थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM