काठमाडौँ, १० फाल्गुण/ संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्।
मंगलबार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन्।
विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताए। मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताए।
उनले भने, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको त्यो भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने कामहरु गरेका छन्। त्यो कतै पनि सह्य हुनेवाला छैन। र हिजो मात्रै हामीले अल्पकालीन आदेश लिएर आउनुभएको थियो बतास अर्गनाइजेशनले। त्यो अल्पकालीन आदेश पनि खारेज भइसकेको अवस्था छ। त्यसोभएको हुनाले पशुपतिले सबैको रक्षा गर्नेछन्। जसले पशुपतिप्रति गिद्धे दृष्टि लगाउँछ, त्यसको कहिल्यै पनि कल्याण हुनेवाला छैन। हुँदा पनि हुँदैन। कम्तिमा आज हामीसँग त्यो धर्मशाला भएको भए करिब ४०० भन्दा बढी बाबाहरुलाई त्यहाँ राख्न सकिन्थ्यो। वृद्धहरुलाई त्यहाँ राख्न सकिन्थ्यो। तर त्यो भएन। तर मलाई लाग्छ छिट्टै नेपाल सरकारको त्यो सम्पत्ति भारत सरकारले गरेको जो सहयोग धर्मशालाको लागि त्यो अवश्यपनि हामी छिटोभन्दा छिटो फिर्ता ल्याउनेछौँ भन्ने म राख्न चाहन्छु।’
पशुपति क्षेत्र विकास कोषको अध्यक्षसमेत रहेका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए। महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनैपनि कसर बाँकी नराख्न उनले निर्देशनसमेत दिए।
धर्मावलम्बीहरुलाई सहज रुपमा पानीको व्यवस्था, बत्तिको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिए।
यसवर्षको महाशिवरात्री पर्व फागुन १७ गते मंगलबारका दिन परेको छ। यसवर्ष सो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए।
पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मुल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको उनले जानकारी दिए।
मेलामा आउने दर्शनार्थीहरुको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने पनि उनले उल्लेख गरे। सो दिन दर्शनार्थीलाई सहजताका लागि डिजिटल बत्तीको व्यवस्था गरिने तथा मन्दिर क्षेत्रमा आउने साधु, सन्तहरुको भोजन र आवासका लागि कोष सचेत रहेको उनको भनाइ छ।
सदस्य सचिव थापाले सो दिन पनि विद्युत शवदाह क्षेत्र र क्रियापुत्री क्षेत्र सञ्चालन हुने बताए। महाशिवरात्री पर्वका दिन मदिरा तथा लागुपदार्थमुक्त क्षेत्र बनाउनका लागि विशेष निगरानी र कडाइ गरिने पनि उनले बताए।