२०८३ बैशाख ८ गते, मंगलवार १८:३६

आचरण विपरित काम गर्ने वरिष्ठ सई सागर राणा निलम्बित

धनुषा/मधेश प्रदेश प्रहरी संगठनभित्र देखिएको आर्थिक लेनदेनसम्बन्धी विवादले नयाँ मोड लिँदै गएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई निलम्बन गरिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार आर्थिक लेनदेनसँग सम्बन्धित आरोप र त्यससँग जोडिएको मोबाइल संवाद सार्वजनिक भएपछि प्रारम्भिक कारबाहीस्वरूप राणामाथि निलम्बन गरिएको हो। स्रोतहरूका अनुसार, तस्कर र प्रहरीबीच भएको भनिएको संवाद बाहिरिएपछि घटनाले व्यापक चर्चा पाएको हो।

उक्त संवादमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाम समेत जोडिएको दाबी गरिएको छ। तर, डीआईजी थपलियाले ती आरोपलाई अस्वीकार गर्दै आफूलाई नियोजित रूपमा बदनाम गर्न संवाद सार्वजनिक गरिएको बताएका छन्।

यता, निलम्बित वरिष्ठ सई राणाले पनि आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गरेका छन्। उनले विवाद समाधानको उद्देश्यले केही व्यापारीहरूसँग सम्पर्कमा रहेको स्वीकार गरे पनि कुनै पनि अवैध गतिविधिमा संलग्नता नरहेको दाबी गरेका छन्।

प्रहरी स्रोतका अनुसार, सार्वजनिक संवादमा अन्य केही प्रहरी कर्मचारीहरूको नाम समेत जोडिएको छ। धनुषाको इनर्वा नाकाबाट हुने भनिएको तस्करी गतिविधिसँग सम्बन्धित समूहबारे अनुसन्धान तीव्र बनाइएको जनाइएको छ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM