२०८३ बैशाख ८ गते, मंगलवार १८:३८

पोसिलो आहार र आत्मनिर्भरता लक्षित गर्दै राष्ट्रिय खाद्य बैंकको दीगो कृषि अभियान

काठमाडौं । ‘पोसिलो आहारका लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नारासहित राष्ट्रिय खाद्य बैंक लिमिटेडले देशभर कृषि कार्यक्रम विस्तार गरिरहेको जनाएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख शंकरनाथ उप्रेतीले नेपालको समृद्धि र किसानको सम्मानलाई केन्द्रमा राख्दै कृषि उत्पादन अभिवृद्धि र खाद्य आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

उनका अनुसार आजको खाद्य आवश्यकता पूर्ति गर्दै भोलिको पुस्तालाई खाद्य सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्यले खाद्य बैंक स्थापना गरिएको हो। संस्थाले तराईका विभिन्न जिल्लामा करिब ६०० बिघा जग्गा भाडामा लिएर उत्पादन सुरु गरिसकेको छ। कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन र रुपन्देहीसहित १३ जिल्लामा उत्पादन विस्तार गरिएको र झापा, मोरङ तथा सुनसरीमा थप जग्गा व्यवस्थापन गरिएको उनले बताए।

किसानले उत्पादन गरेका वस्तुको भण्डारण, प्याकेजिङ र बजारीकरणको जिम्मेवारीसमेत संस्थाले लिएको उप्रेतीको भनाइ छ। धान, गहुँ, कोदो, फापर, जौ, गेडागुडी, दूध, माछा, मासु, जडीबुटी, फलफूल तथा चिया–कफीजस्ता उत्पादनमा संस्थाले काम गरिरहेको उनले जानकारी दिए।

देशभर कृषि उत्पादन विस्तार गर्दै रोजगारी सिर्जना गर्ने र आयातमा निर्भरता घटाउने लक्ष्य संस्थाको रहेको उल्लेख गर्दै उनले प्राङ्गारिक उत्पादनमा जोड दिँदै जनस्वास्थ्यको संरक्षणमा पनि योगदान पुर्‍याउने नीति अवलम्बन गरिएको बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM