वीरगञ्ज । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले फागु पर्व असत्यमाथि सत्यको जित तथा आपसी सद्भाव भाइचाराका लागि मनाइँदै आएको बताउनुभएको छ ।
वीरगञ्जमा आज वीरगञ्ज महानगरपालिका तथा ग्रिन सिटी सामुदायिक केन्द्रको आयोजनामा साङ्गीतिक कार्यक्रमसहित भव्य रुपमा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै कानुन मन्त्री चौरसीयाले होली पर्वले सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताउनुभयो ।
वीरगञ्जमा होली पर्व सबै वर्ग धर्म समुदायबिच मनाइँदै आएको र मुस्लिम समुदायहरूले पनि यो पर्व भव्य रुपमा मनाउँदै आएकोमा खुशी व्यक्त गर्दै कानुन मन्त्री चौरसीयाले यसले आपसी सद्भाव र सहिष्णुतालाई बढाएको बताउनुभयो ।
उहाँले मधेस प्रदेशमा स्वास्थ्य, शिक्षा क्षेत्रको अवस्था सबैभन्दा नाजुक रहेको र यसलाई माथि उठाउन तिनै तहका सरकारले साझा कार्यक्रम ल्याउनुपर्ने कुरामा समेत जोड दिनुभयो ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत देवी सहाय, मधेस प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, पूर्व अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतान लगायत स्थानीय उद्योगी, व्यवसायी सञ्चारकर्मी सहित हजारौँको सङ्ख्यामा वीरगन्जवासीको सहभागिता रहेको थियो ।