काठमाडौँ I सरकारले पाथीभर केबलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षको मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
आजको राष्ट्रियसभाको बैठकमा शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले पाथीभर केबलकार निर्माणका सन्दर्भमा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन समेत अपिल गर्नुभयो ।
सरकारले सिंहदरबार परिसरमा रहेका निकायहरूका भवनको समग्र विपद् जोखिम मूल्याङ्कन गर्नका लागि एक समिति गठन गरी कार्य अघि बढाएको गृहमन्त्री लेखकले सभालाई जानकारी गराउनुभयो ।
बैठकमा राष्ट्रियसभाका सांसदहरुले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारले गरेको तयारी, पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर भइरहेको आन्दोलनलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।