२०८३ असार २ गते, मंगलवार १३:२८

कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

संखुवासभा। संखुवासभाको जिल्ला कारागार खाँदबारीमा भएको दुई जना कैदीको हत्या प्रकरणमा जिल्ला अदालतले सात जना प्रहरी अधिकारी र आठ जना कैदीबन्दीसहित कुल १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिमको कसुरमा उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए।

यसका साथै अदालतले सोही संहिताको दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतकका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर समेत गरेको छ।

विगत २०८० साउन २४ गते कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिइएका मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीलाई सुरुमा सुरक्षाकर्मी र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो।

घटनालगत्तै जिल्ला कारागारका तत्कालीन इन्चार्ज प्रहरी सहायक निरीक्षकसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो। अदालतको प्रारम्भिक आदेशानुसार आरोपित सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागार चलान गरेर मुद्दाको पुर्पक्ष गरिएको थियो।

अदालतको अन्तिम फैसलाअनुसार जन्मकैदको सजाय पाउने सुरक्षाकर्मीहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राई रहेका छन्।

त्यसैगरी सजाय पाउने कैदीबन्दीहरूमा चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरे रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM