वीरगंज/बैंकिङ कसुरसम्बन्धी मुद्दामा उज्यालो नेपाल पार्टीका मधेश प्रदेश अध्यक्ष रामकिशोर सिंह (पराग) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
धुरेन्द्र प्रसाद कुर्मीको जाहेरीका आधारमा दर्ता भएको नेपाल सरकार वादी र रामकिशोर सिंह प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेको जनाएको छ।
सिंह वीरगञ्ज महानगरपालिका–२० का निवर्तमान वडाध्यक्ष हुन्। उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका मधेश प्रदेश अध्यक्ष तथा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका पूर्व उम्मेदवारसमेत रहेका छन्।
पर्सा प्रहरीका अनुसार मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा प्रतिवादी सिंह हाल सम्पर्कविहीन रहेका छन्। उनी फरार अवस्थामा रहेको जनाउँदै प्रहरीले पक्राउका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रतिवादीलाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराउने उद्देश्यले खोजतलास तथा निगरानी कार्यलाई तीव्र पारिएको छ। आर्थिक अपराधसँग सम्बन्धित मुद्दामा प्रमाण संरक्षण, अनुसन्धानको निष्पक्षता तथा प्रतिवादीको उपस्थितिलाई विशेष महत्व दिइने भएकाले खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले फरार प्रतिवादीको खोजी जारी रहेको र पक्राउपछि प्रचलित कानूनबमोजिम थप प्रक्रिया अघि बढाइने जनाएको छ।















