२०८३ असार २ गते, मंगलवार १४:४६

अभिनेत्री सञ्चिताद्वारा आत्महत्या

काठमाडौं । भारतीय टेलिभिजन शृङ्खला ‘कुमकुम भाग्य’ की लोकप्रिय २२ वर्षीया अभिनेत्री सञ्चिता उगलेको दुःखद निधन भएको छ। महाराष्ट्रको पालघर जिल्लाअन्तर्गत नालासोपारा (पूर्व) स्थित आफ्नै निवासमा उनले आत्महत्या गरेकी हुन्।

अचोले प्रहरीका सहायक प्रहरी निरीक्षक विनोद बाघका अनुसार गत आइतबार (जुन १४) साँझ करिब ७ बजे सञ्चिताले आफ्नो कोठा भित्रबाट बन्द गरी साडीको पासो लगाएर सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेकी थिइन्।

घटनाको समयमा उनी घरमा एक्लै रहेको बताइएको छ । पछि परिवारका सदस्य तथा छिमेकीहरूले ढोका खोलेर उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याएका थिए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि सरकारी अस्पताल पठाएको छ। प्रहरीका अनुसार घटनास्थलमा कुनै पनि प्रकारको ‘सुसाइड नोट’ वा शङ्कास्पद सामग्री भेटिएको छैन।

अभिनेत्रीका पिताले दिएको उजुरीका आधारमा अचोले प्रहरीले ‘भारतीय नागरिक सुरक्षा संहिता’ को धारा १९४ बमोजिम भवितव्य मृत्यु दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।

सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय रहेकी सञ्चिताले आफ्नो मृत्यु हुनुभन्दा २४ घण्टाअघि मात्रै मुस्कुराएको भिडियो (रिल) सेयर गरेकी थिइन्, जसका कारण उनको यो आत्मघाती कदमले उनका प्रशंसक र समग्र टेलिभिजन उद्योगलाई गम्भीर स्तब्ध र आक्रोशित तुल्याएको छ।

आत्महत्याको स्पष्ट कारण अझै खुल्न नसकेको र प्रहरीले विभिन्न कोणबाट यस विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। सानै उमेरमा कला क्षेत्रमा राम्रो पहिचान बनाएकी सञ्चिताले चर्चित धारावाहिक ‘कुमकुम भाग्य’ मा ‘दिया टान्डन’ को भूमिका निर्वाह गरेर दर्शकको मन जितेकी थिइन्, जसलाई उनले आफ्नो अभिनय यात्राको महत्वपूर्ण मोड (टर्निङ प्वाइन्ट) मान्ने गरेकी थिइन्।

यसबाहेक उनले ‘वाग्ले की दुनिया’ मा रुचिरा जैतलीको भूमिका र ‘दिलवाली दुल्हा ले जायेगी’ शृङ्खलामा मुख्य अभिनेत्रीका रूपमा अभिनय गरेकी थिइन्। टेलिभिजनमा मात्र सीमित नरही उनले ठूलो पर्दामा समेत आफ्नो पाइला चाल्न सुरु गरिसकेकी थिइन् ।

उनले अभिनेता विक्की कौशलको मुख्य अभिनय रहेको ऐतिहासिक चलचित्र ‘छावा’ मा तारा रानीको बाल्यकालको भूमिका र प्रसिद्ध अभिनेता मनोज बाजपेयीसँग ‘साइलेन्स २’ फिल्ममा काम गरेकी थिइन्।

आशालाग्दो करियरको सुरुवात गर्दागर्दै भएको उनको यो असामयिक र रहस्यमय निधनले कला क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM