दमौली – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, तनहुँ शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न अधिवेशनले विष्णु गौतमलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।
गठित कार्यसमितिमा अस्मिता खनाल उपाध्यक्ष, माधव पौडेल सचिव, सागर गिरी सहसचिव, शिला वाग्ले कोषाध्यक्ष तथा श्रहरि पौडेल र उपेन्द्र खनाल सदस्यको रूपमा चयन भएका छन्।
त्यसैगरी, शाखाको सल्लाहकार पदमा मदन वाग्ले, अमरराज नहर्की र शंकरराज नहर्की मनोनीत भएका छन्।
अधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले समाचारका लागि फोटो अपरिहार्य भएकाले फोटो पत्रकारिताले विश्वसनीयता कायम राख्ने बताए। उनले फोटो पत्रकारितालाई अझ व्यावसायिक बनाउन तालिमको आवश्यकता रहेको पनि उल्लेख गरे।
सोही अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमिल्सना, रिपोर्टर्स क्लब गण्डकी प्रदेश अध्यक्ष मदन वाग्ले लगायतले फोटो पत्रकारिताको महत्वबारे धारणा व्यक्त गरे।
कार्यक्रमका क्रममा फोटो पत्रकारितामा उल्लेखनीय योगदान दिएका राष्ट्रिय समाचार समिति (रासस) का कृष्ण न्यौपाने, प्रादेशिक खबर दैनिकका मदन वाग्ले र प्रहार अनलाइनका शंकरराज नहर्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।