काठमाडौं/ काठमाडौं उपत्यकामा बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरी सक्रिय बनेको छ। विशेष गरी गुन्डागर्दी, हतियार प्रदर्शन, सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतको नेतृत्वमा विशेष अभियान सञ्चालन भइरहेको छ।
प्रहरी स्रोतका अनुसार एसएसपी बस्नेतले राजधानीमा गुन्डागर्दीविरुद्ध कडा कदम चाल्ने रणनीति लिएका छन्। यही अभियानअन्तर्गत हालै मात्र तरबारसहित केक काट्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अपराधीमाथि निगरानी र कडा कारबाही
एसएसपी बस्नेतले पदभार ग्रहण गरेपछि उपत्यकामा सक्रिय आपराधिक समूहहरूमाथि कडा निगरानी बढाइएको छ। प्रहरीले सामाजिक सञ्जालमार्फत आपराधिक गतिविधि गर्नेहरूलाई निगरानीमा राखी तत्काल कारबाही गर्ने नीति लिएको छ।
“उपत्यकामा शान्ति सुरक्षामा बाधा पुर्याउने र जनतालाई त्रासमा राख्ने कुनै पनि गतिविधि सह्य हुने छैन। यस्तो कार्यमा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याइनेछ,” एसएसपी बस्नेतले बताएका छन्।
विशेष अपरेसन जारी
प्रहरीले हाल गुन्डागर्दी, हतियार कारोबार, लागुऔषध ओसारपसार, फिरौती असुली, ठगी तथा अन्य आपराधिक गतिविधिहरू नियन्त्रण गर्न विशेष अपरेसन सञ्चालन गरिरहेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बनेपछि एसएसपी बस्नेतले शहरलाई अपराधमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो समयमा भएका पक्राउहरू पनि सोही अभियानको हिस्सा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सर्वसाधारणलाई कुनै पनि आपराधिक गतिविधि देखे वा जानकारी पाए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। एसएसपी बस्नेत नेतृत्वमा उपत्यकामा अपराध नियन्त्रणको अभियान अझै सशक्त रूपमा अघि बढ्ने देखिन्छ।