१५ माघ, काठमाडौं । काठमाडौंमा सम्पन्न जय नेपाल कप अन्तर विश्वविद्यालय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि मध्यपश्चिम विश्वविद्यालयले जितेको छ । मंगलबार भएको फाइनलमा भारतको लखनउ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिमले उपाधि जितेको हो ।
मध्यपश्चिमले लखनउलाई ५८ रनले हरायो । मध्यपश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । मनन कन्दपालले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
मध्यपश्चिमका लागि दिवान पुनले ३ विकेट लिँदा राजकुमार साहले २ विकेट तथा दिनेश अधिकारी र सुवास भण्डारीले १-१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमले बिपिन खत्रि र दिवान पुनको अर्धशतकमा २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । बिपिनले ५९ तथा दिवानले ५८ रन बनाएका थिए । लखनउका लागि अभिषेक सोनी, मनन कन्दपाल र हर्श वर्धनले १-१ विकेट लिए ।
उपाधिसँगै मध्यपश्चिमले नगद १५ लाख रूपैयाँ प्राप्त गरेको छ भने उपविजेता लखनउले १० लाख रूपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट बलर मध्यपश्चिमका बिपिन खत्री घोषित भए भने उत्कृष्ट ब्याटर त्रिविका लोकेश बम घोषित भए ।