फाइल तस्वीर ।
२८ पुस, काठमाडौं । तराईं क्षेत्रमा लागेको हुस्सु कम भएको छ । केही दिन धेरै ठाउँमा बाक्लो देखिएको हुस्सु आज भने कम भएको छ । आइतबार तराईका थोरै भू-भागमा मात्रै हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ । यसले गर्दा मौसम बदली भएको छ । आज कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर नै बदली हुनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यसले गर्दा ती क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।