Saturday, January 11, 2025
घरसमाचारवैदेशिक रोजगारी त्यागेर जुनार खेती

वैदेशिक रोजगारी त्यागेर जुनार खेती

मन्थली (रामेछाप) । रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनार खेतीतर्फ लागेका छन् । 

जुनार खेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनार खेतीतर्फ आकर्षित भएका हुन् । 

जुनार बगैँचाभित्र तोरी भटमासलगायत कोसेबाली र अन्य तरकारी बाली उत्पादन गरी आम्दानी लिन सकिने तथा जुनारबाट पनि आम्दानी लिन सकिने भएकाले यसतर्फ आकर्षित भएको रामेछाप–६ ओख्रेनीका जुनार कृषक हिमाल तामाङले बताउनुभयो । 

लामो समय खाडी मुलुकमा बसेर काम गरेको भन्दै लेखपढ नभएका र सीप नभएका आफू जस्तालाई त्यहाँ सजिलो काम पाउन मुस्किल हुने उहाँले अनुभव सुनाउनुभयो ।

बर्सेनि बिरुवा थप्दै र उत्पादन वृद्धि गराउँदै जाने हो भने यही विदेशको जति कमाउन सकिने उहाँले दाबी गर्नुभयो । आफू भारतको गुजरातमा २५ वर्ष बसेर काम गरेको अनुभव सुनाउँदै त्यहाँको आम्दानी चित्त नबुझेर स्वदेशमा केही गर्ने अठोटका साथ फर्किएर जुनार खेती सुरु गरेको तामाङले बताउनुभयो । 

यसअघि आफू वैदेशिक रोजगारीका क्रममा चार वर्ष मलेसिया बसेर धेरै दुःख गर्दा पनि सन्तोषजनक आम्दानी नभएकाले स्वदेशमा फर्केर जुनार खेती गर्न थालेको रामेछाप–७ सुकाजोरका अर्का कृषक रामकुमार कार्कीले बताउनुभयो । 

रामेछाप नगरपालिकामा हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रामकुमार कार्कीलगायत दजनाँै कृषक वैदेशिक रोजगारीबाट सन्तुष्ट नभएर जुनार खेती गर्ने गरेका छाप नगरपालिकाका वरिष्ठ कृषि शाखा प्रमुख कृष्णबहादुर भुजेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अरूको तुलनामा उहाँहरूको बगैँचा र जुनारका दाना राम्रा छन् ।

गत वर्ष जिल्लामा पाँच सय २० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती गरिएको बताउँदै यस वर्ष पाँच सय ४० हेक्टर क्षेत्रफलमा जुनार उत्पादन भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकी भवानी बस्नेतले जनाउनुभयो । उहाँले जिल्लाका विभिन्न पालिकामा वैदेशिक रोजगारीबाट फर्केर जुनार र सुन्तलाखेती गर्नेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । 

बजारको समस्या नभएकाले यसको व्यवसाय सहज बनेको भन्दै बस्नेतले प्रशस्त उत्पादन, बजारीकरणको समस्या नहुनु, मुनाफा बढीलगायत कारणले युवाको जुनार खेतीप्रति आकर्षण बढेको दाबी गर्नुभयो । 

दैनिक रूपमा विदेशिने हजारौँको सङ्ख्याका युवालाई यस्ता कृषि कर्ममा विभिन्न अनुदान दिएर सङ्घीय तथा प्रदेश सरकारले लगाउन सके वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्ने मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताउनुभयो ।रासस  

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -