काठमाडौँ । पत्रकार श्रमसम्बन्धी समस्या समाधान गर्नको निम्ति न्यूनतम पारिश्रमिक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिनुभएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले आज काठमाडौँमा गरेको अन्तरक्रिया कार्यक्रममा न्यूनतम पारिश्रमिक सम्बन्धी समस्या समाधान गर्न ऐन कार्यान्वयन हुनै पर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सँगीता खड्काले पत्रकारहरूका समस्या समाधानका लागि ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सबै पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सकियो भने न्यूनतम पारिश्रमिक सम्बन्धी धेरै समस्या हल भएर जाने पनि बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले न्यूनतम पारिश्रमिक सम्बन्धी भएको कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै कानुन कार्यान्वयनका लागि सम्बद्ध पक्ष सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सूचना तथा प्रसार विभागका महानिर्देशक प्रदीप परियारले पत्रकारका समस्या समाधान गर्नका लागि न्यूनतम पारिश्रमिक सम्बन्धी ऐन कार्यान्वयनको विकल्प भएको बताउनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका बोर्ड टेनिस रोका, पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष रमेश वाग्ले, निवर्तमान अध्यक्ष बालकृष्ण अधिकारी लगायतले पत्रकारहरूले काम गरिरहेको संस्थाबाट मापदण्ड अनुसारको सेवा सुविधा पाउनै पर्नेमा जोड दिनुभयो ।