२४ पुस, काठमाडौं । विमला चौधरी र चन्द्रा भण्डारीको ह्याट्रिक मदतमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले एन्फा महिला राष्ट्रिय लिगको सुपर लिगमा फराकिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई १२-० को फराकिलो अन्तरमा पराजित गरेको हो ।
दोस्रो जितपछि आर्मीले तीन खेलबाट ७ अंक जोडेको छ । वालिङ भने खेलेको तीनवटै खेलमा पराजित हुँदै अकंविहिन छ । जितपछि आर्मी शीर्ष स्थानमा उक्लेको छ । नेपाल पुलिस क्लबसमान अंक भएपनि गोल अन्तरमा आर्मी अघि छ ।
सुपर लिगमा यो सबैभन्दा फराकिलो अन्तरको जित हो । यसअघि अर्को विभागीय टोली एपीएफले वालिङलाई नै ९-० ले पराजित गरेको थियो ।
आर्मीका लागि विमला चौधरीले ४, चन्द्रा भण्डारीले ३ तीन गोल गर्दा सपना लामा र अञ्जना थुलुङ राईले समान २ गोल गरे । विमला विकको नाममा १ गोल रह्यो ।