विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउने बताउनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धी अध्ययन कार्यदल बनाएको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले सङ्घीयता कार्यान्वयन गर्न प्रदेश सरकारले थप कानुनहरु बनाउने, कानुनको प्रभावकारी कार्यान्वयनको लागि संशोधन गर्नेतर्फ केन्द्रित हुने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले सङ्घीयता नयाँ संरचना रहेको हुँदा केन्द्र र प्रदेशबीच अधिकारहरू बाँडफाँड समेत नभइसकेको सन्दर्भमा कार्यदलले दिएको प्रतिवेदन मार्गदर्शक हुने बताउनुभयो ।
कार्यदलले प्रतिवेदनमा प्रदेश सरकारले बनाउनुपर्ने नयाँ कानुन, संशोधन गर्नुपर्ने र संघीय सरकारले अधिकार हस्तान्तरणका लागि बनाउनुपर्ने कानुनहरूका विषय समेटेको छ ।
प्रतिवेदन कार्यदलका संयोजक चूडामणि आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।
पछिल्लो पटक मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले कानुन निर्माण र संशोधनको विषयलाई प्राथमिकतामा राख्दै पहिलो निर्णय नै कार्यदल गठन गर्ने गर्नुभएको थियो ।
मुख्यमन्त्री कार्कीले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीलाई हस्तान्तरण गर्नुभयो । उहाँले अध्ययन गरी रायसहित बुझाउन २१ दिनको समयसीमा दिँदै त्यसपछि अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो ।
कार्यदलमा संयोजक आचार्यसहित सदस्यहरूमा गजेन्द्र आचार्य, अर्जुन राई, कुलप्रसाद साम्बा, जसमाया गजमेर, नरेन्द्रकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिवका रुपमा रहनुभएको थियो ।