२४ पुस, काठमाडौं । न्युजिल्याण्डका क्रिकेटर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय गप्टिलले आधिकारिक रूपमा सन्यासको घोषणा गरेको न्युजिल्याण्ड क्रिकेटले आफ्नो वेबसाइटमार्फत जनाएको छ ।
‘सानैदेखि मलाई न्युजिल्याण्डबाट खेल्ने सपना थियो त्यो पूरा गर्न पाउँदा र आफ्नो राष्ट्रका लागि ३६७ खेल खेल्न पाउँदा भाग्यशाली र गर्वको महसुस भएको छ’ उनको भनाइलाई उद्धृत गर्दै न्युजिल्याण्ड क्रिकेटले जनाएको छ ।
वर्षौंदेखि सँगै खेल्दै आएका टिममेटहरू, मलाई गाइड गर्ने प्रशिक्षकहरूदेखि म्यानेजर सबैलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु । मलाई साथ दिने परिवारप्रति पनि निकै आभारी छु, समर्थकहरूलाई पनि उो मायाप्रति धेरैधेरै धन्यवाद’ उनले भनेका छन् ।
गप्टिलले न्युजिल्याण्डका लागि सबै फर्म्याटमा गरेर ३६७ खेल खेल्दा १३ हजारभन्दा धेरै रन बनाएका छन् । उनी न्युजिल्याण्डका लागि एकदिवसीयमा दोहोरो शतक प्रहार गर्ने पहिलो र हालसम्म एकमात्र खेलाडी हुन् । उनले विश्वकपको खेलमा दोहोरो शतक बनाएका थिए जुन विश्वकपमा नै पहिलो २००-रनको पारी हो ।
३८ वर्षीय गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । उनी २०२४ मा नेपालमा भएको नेपाल प्रिमियर लिग एनपीएल पनि खेलेका थिए । विराटनगर किङ्सको टोलीबाट खेलेका उनी एनपीएलका लागि अनुबन्ध हुने ठूलो नाममध्ये एक हुन् ।
गप्टिलले टी-२० आईमा २ शतक प्रहार गरेका छन् । टी-२० आईमा उनको उच्च स्कोर १०५ रन हो । उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन् । यस्तै टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् ।
उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमियर लिग आईपीएल पनि खेलिसकेका छन् । यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलिसकेका छन् ।