Thursday, January 9, 2025
घरसमाचारफिल्म रिलिज गर्न संघमा अनिवार्य दर्ताको नियमप्रति फिल्मकर्मी असन्तुष्ट

फिल्म रिलिज गर्न संघमा अनिवार्य दर्ताको नियमप्रति फिल्मकर्मी असन्तुष्ट

फाइल तस्वीर


काठमाडौं । फिल्म प्रदर्शनपूर्व प्रदर्शक संस्था चलचित्र संघ र निर्माता संघमा दर्ता अनिवार्य गरिएपछि कतिपय फिल्म निर्माता यसबारे असन्तुष्ट देखिएका छन् । उनीहरूले यसलाई ‘सिर्जनशीलता विरोधी’ र ‘असंवैधानिक कदम’को संज्ञा दिएका छन् ।

निर्देशक तथा पटकथा लेखक मनोज पण्डितले सिनेमा क्षेत्रमा सिन्डिकेटवाला निर्णय धमाधम भइरहेको र यो असंवैधानिक रहेको टिप्पणी गरे । सिनेमा सम्बन्धी हकहितको लागि गठन भएका संस्था आफैं शासक बनेर अंकुश लगाउने काममा उत्रिएको उनको भनाइ छ ।

पण्डित लेख्छन्, ‘अब चलचित्र निर्देशन गर्न निर्देशक समाजको अनुमति, अभिनय गर्न कलाकार संघको अनुमति, सिनेमा खिच्न छायाकार र सम्पादन गर्न सम्पादकले प्राविधिक संघको अनुमति लिनुपर्छ भनेर अर्को उर्दी जारी हुन बेर लाग्दैन । सिनेमा सम्बन्धित श्रमजीवीको हितका लागि गठन भएका संघसंस्थाहरु आफूलाई नै शासक मान्दै अंकुश लगाउनेतर्फ अग्रसर हुनु पश्चगामी हाबी हुनु हो । सिनेमा क्षेत्रमा सिण्डिकेटवाला निर्णय भटाभट भइरहेको छ, जुन असंवैधानिक छ ।’

 

निर्देशक दीपक रौनियारले निर्माता संघको निर्णयको विरोध गरेका छन् । उक्त निर्णय अस्वीकार्य रहेको उल्लेख गर्दै रौनियारले यसलाई असंवैधानिक रहेको बताएका छन् ।

निर्माता रामकृष्ण पोखरेलले नेपालमा सिर्जनशील युवा र स्वतन्त्र फिल्म निर्माताको मनोबल घटाउन निर्माता संघ र चलचित्र संघ सधैं सक्रिय रहेको आरोप लगाएका छन् । उनले यसको विरोध गर्दै प्रणालीलाई सिन्डिकेट बनाउने नियतले उद्दत भएको टिप्पणी गरे ।

‘उनीहरुले कहिले पनि प्रगतिशील काम गरेका छैनन् । फिल्म उद्योगमा नयाँ आवाज र नयाँ विकल्पलाई दबाउन खोजेका छन् । यो देशमा फिल्म निर्माताको रूपमा हाम्रो स्वतन्त्रता बचाउन यी पुराना विचारविरुद्ध सामूहिक र बलियो आवाज उठाउने समय आएको छ,’ उनले लेखेका छन् ।

यस वर्षको हिट फिल्म ‘बोक्सीको घर’का निर्देशक सुलक्षण भारतीले कला र साहित्य राजनीतिबाट मुक्त हुनुपर्ने भन्दै शक्तिकेन्द्र निर्माण गरेर यसरी अंकुश लगाउन नमिल्ने बताएका छन् ।

तर चलचित्र संघको तर्फबाट कार्यदल संयोजक गोपाल कायस्थ र निर्माता संघको तर्फबाट कार्यदल संयोजक उदय सुब्बाले अहिले देखिएका बेथितिलाई नियमन गर्न यस्तो नियम जरुरी रहेका बताएका छन् । आफूखुसी फिल्मको प्रदर्शन मिति घोषणा गर्ने, आफूखुसी फिल्म हलबाट उतार्न खोज्ने र समस्या परेमा संस्था गुहार्न आउने प्रवृत्तिका कारण यस्तो नियम ल्याउनुपरेको उनीहरूले बताएका छन् ।

मंगलबार दुई संस्थाका कार्यदलबीच चलचित्र संघमा वितरकले फिल्म दर्ता गर्दा निर्माता संघको सिफारिस पनि अनिवार्य पेश गर्नुपर्ने सहमति भएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -