Saturday, January 11, 2025
घरसमाचारलाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन

लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन

काठमाडौं । लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर (बीएएनसी) सञ्चालनमा आएको छ । मानसिक स्वास्थ्य प्रवर्द्धन र अनुसन्धान गर्ने लक्ष्यसहित सेन्टर सञ्चालनमा ल्याइएको जनाइएको छ ।

आइतबार आयोजित शुभारम्भ कार्यक्रममा वरिष्ठ मानसिक रोग विशेषज्ञ तथा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मानसिक स्वास्थ्यसम्बन्धी चेतना र पैरवी जनमानसमा पुग्न नसकेको बताए । मानसिक स्वास्थ्य सम्बन्धी सचेतना अझै पनि सर्वसाधारणमा पुग्न नसकेको उनले बताए ।

‘मानसिक रोग के हो भनेर बुझाउन सकिएको छैन । यसको सेवाको पहुँचमा पनि धेरै काम गर्नुपर्नेछ । धेरै सेवा राजधानी केन्द्रित मात्र छन्,’ उनले भने, ‘१४ वटा जिल्लामा मात्र यो सेवा पुर्‍याउन सकेका छौं । जनशक्ति पनि कम छ । प्रयास गरिरहेका छौं ।’

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्रा. डा. सरोजप्रसाद ओझाले नेपालमा मानसिक समस्याको सेवामा पहुँच पुग्न नसकेको बताए ।  ‘मानसिक समस्या भन्ने बित्तिकै गलत बुझाइ छ । पहुँच पनि सबैतिर पुग्न सकेको छैन । यस्ता खालका संस्थाहरुको आवश्यकता बढ्दै गएको छ,’ उनले भने ।

मानसिक रोग विशेषज्ञ डा. रवि शाक्यले मानसिक समस्या बढ्दै गएको तर अझै पनि धेरैले खुलेर भन्न सक्ने अवस्था आउन नसकेको धारणा राखे । ‘मानसिक समस्या यकिन भएमा कहाँ जाने भनेर धेरैलाई थाहा छैन । थाहा भएका पनि सही ठाउँमा पुग्न सकेका छैनन् । यसमा सचेत हुनुपर्छ,’ शाक्यले भने ।

सेन्टरका संस्थापक निर्देशक तथा मनोचिकित्सक डा. ऋषभ कोइरालाले मानसिक स्वास्थ्य प्रवर्द्धन र विकास गर्न यो सेन्टरको स्थापना गरिएको बताए । सेन्टरले मनोचिकित्सक तथा मनोविद्मार्फत मानसिक ओपीडी सेवा, मनोवैज्ञानिक परामर्श, व्यक्तिगत थेरापी, व्यक्तित्व क्षमताको लेखाजोखा, न्युरोसाइकोलोजिक लेखाजोखा, टेलिपरामर्शलगायत सेवा र मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्ने सेन्टरको उद्देश्य रहेको बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -