२१ पुस, काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर लिगको आइतबार भएको विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी एफसीले अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस र आर्मीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
दुवै टोलीले गोल गर्ने केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन ।
खेलको पहिलो हाफमा पुलिसले गोल गरेपनि मान्यता पाएन । पुलिसकी पुजा रानाले २२औं मिनेटमा गरेको गोलले मान्यता नपाउँदा खेल नै केही बेर रोकिएको थियो ।
पूजाले गोल गरे पनि आर्मीकी गोलकिपर अन्जना राना मगर विरुद्ध फल गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले मान्यता दिएनन् । पुलिसका खेलाडीले त्यसमा विरोध गर्दा खेल केही बेर रोकिएको हो ।
बराबरीपछि दुवैले समान एक अंक जोडेका हुन् । दुई खेलपछि आर्मी र पसलिसको समान ४ अंक भएको छ । गोल अन्तरमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा छ ।