२०८३ असार २३ गते, मंगलवार २१:४१

नेत्ररोग विशेषज्ञ डा रुइत पुरस्कृत

कास्की । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपती समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई  प्रदान गरिएको हो । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहनुभएका डा रुइतलाई गुठीको ३२औँ वार्षिक साधारणसभा समारोहमा पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीलगायतले शनिबार रु दुई लाख २२ हजार दुई सय २२ सहित श्रीपति समाज सेवा पदक र ताम्रपत्रबाट पुरस्कृत गर्नुभयो । कार्यक्रममा डा रुइतले सम्मानले आफूलाई जिम्मेवार बन्दै थप समाज सेवाका लागि अभिप्रेरित गरेको बताउनुभयो ।

यसैगरी सामाजिक पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदरस्वरुप उहाँलाई नगद रु २२ हजार दुई सय २२ राशिसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो ।

देश र जनताका लागि विपद्मा उद्धार तथा राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा गर्नुभएको योगदानको कदर गर्दै डा रुइतलाई पुरस्कृत गरेका हौँ ।”

पुरस्कृत व्यक्तित्व छनोटका लागि गुठीका अध्यक्ष फणीन्द्रराज कोइरालाको संयोजकत्वमा समाजसेवी, बुद्धिजीवीसहितको ६ सदस्यीय समिति गठन गरिएको थियो । छनोट समितिको सिफारिसलाई गुठीको बैठकले अनुमोदन गरी गत असार २७ गते पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको थियो । यसअघि उक्त पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भवानी नमूना विद्याश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM