Friday, January 10, 2025
घरसमाचारएकैदिन एमाले र माओवादीको केन्द्रीय समिति, ओली-प्रचण्डले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन

एकैदिन एमाले र माओवादीको केन्द्रीय समिति, ओली-प्रचण्डले ल्याउँदैछन् राजनीतिक प्रतिवेदन

२० पुस, काठमाडौं । संयोग नै मान्नुपर्छ, सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले एकैदिन केन्द्रीय समिति बैठक राखेका छन् । आइतबारदेखि राजधानी काठमाडौंमा यी दुई दलहरूले केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

दुवै दलले पार्टी मुख्यालयमै बैठक राखेका छन् । निर्धारित कार्यतालिका अनुसार एमालेले बिहान ११ बजे र माओवादीले दिउँसो १ बजेदेखि सुरु हुनेगरी बैठक आह्वान गरेका छन् ।

दुवै दलका अध्यक्षले भोलि नै दुईवटा राजनीतिक प्रतिवेदन बैठकसमक्ष प्रस्तुत गर्दैछन् ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले प्रस्तुत गर्ने प्रतिवेदनको नाम खुलाइएको छैन् । माओवादी अध्यक्ष प्रचण्डले भने आफ्नो प्रतिवेदनलाई ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षक दिएका छन् ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई प्रतिवेदनमाथि बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ ।

एमालेले यसअघि यस्ता प्रतिवेदनमाथि समूहगत छलफल गर्दै आएको थियो । अहिले छलफलका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय उपलब्ध गराइएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले पनि भोलिबाटै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल थालिने बताए । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै छलफल थालिने उनले बताए ।

एमालेको पनि उस्तै तयारी छ । प्रतिवेदनमाथि अध्यक्ष ओलीले सुरुमा ब्रिफिङ गर्नेछन् ।

प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको उपाध्यक्ष पाण्डे बताउँछन् ।

माओवादीले भने बैठक सञ्चालनको ‘मोडालिटी’ टुंगो लगाइसकेको छैन । शनिबार दिउँसो स्थायी समिति बैठक राखेर उक्त मोडालिटीबारे टुंगो लगाउने तयारी थियो ।

तर, अध्यक्ष प्रचण्डको कार्यव्यस्तता देखाउँदै माओवादीले भोलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।

दुवै दलले दुई दिनभित्र केन्द्रीय समिति बैठक सक्ने तयारी गरेका छन् । अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि बस्न लागेको एमालेको पहिलो केन्द्रीय समिति बैठक हो ।

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् ।

गत १८ पुसमा एमाले सचिवालय बैठकले बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने नेताहरूले बताएका छन् ।

उता, माओवादी केन्द्रको बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीको सहभागीता हुने बताइएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -