बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि चार दिने उच्च स्तरीय तालिम सम्पन्न भएको छ । नरैनापुर गाउँपालिकाको आयोजना र जन अधिकार संरक्षण मञ्च, नेपालको सहकार्यमा सञ्चालित तालिम आज शनिबार सम्पन्न भएको हो ।
तालिम गाउँपालिकाका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष शाहले मेलमिलापकर्ताहरूको क्षमता विकास गर्ने कार्यक्रमहरू गर्न, वडामा मेलमिलाप केन्द्र स्थापना तथा न्यायिक समितिका लागि बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरू गाउँको विकासमा समेत सहयोग गर्ने भएकाले उनीहरूको पक्षमा गाउँपालिकाले काम गर्ने बताउनुभयो ।
तालिम समापनमा बोल्नुहुँदै उपाध्यक्ष श्रीवास्तवले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने बताउनुभयो । न्यायिक समितिका आएको उजुरीको निष्पक्ष भएर सुनुवाइ गरेको समेत श्रीवास्तवले बताउनुभयो । श्रीवास्तवले गाउँपालिकाको १ देखि ६ नम्बर वडामा मेलमिलाप केन्द्र आठ बर्ष सम्म स्थापना नहुनु चिन्ताको विषय भएको बताउँदै निकट भविष्यमा नै मेलमिलाप केन्द्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा प्रशिक्षार्थीहरूका तर्फबाट अफसर अलि मुकेरीले मेलमिलाप केन्द्र आठ बर्षसम्म वडाहरूमा स्थापना नहुनु पालिकाको कमजोरी भएको बताउँदै तत्काल गठन गर्न आग्रह गर्नुभयो ।
५० जना सहभागी भएको तालिममा प्रमुख प्रशिक्षकमा अधिवक्ता भानुभक्त रिजाल, अधिवक्ता बल बहादुर चन्द प्रशिक्षकहरूमा वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ र लोक बहादुर शाहले सहजिकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रेस विज्ञ आलम खान, योजना शाखा प्रमुख प्रकाश अधिकारी, कृषि शाखा प्रमुख सदन भण्डारी, पशु शाखा प्रमुख जगतराम यादव र वडा नं २ का वडा सदस्य मोहम्मद अहमद खाँ लगायतको सहभागिता रहेको थियो भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।