Wednesday, January 8, 2025
घरसमाचारकाठमाडौंमा हुने ‘चाइना फिल्म डे’मा ३ चिनियाँ फिल्म देखाइने

काठमाडौंमा हुने ‘चाइना फिल्म डे’मा ३ चिनियाँ फिल्म देखाइने

काठमाडौं । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने उद्देश्यले आगामी विहीबार ‘चाइना फिल्म डे’को पहिलो संस्करण आयोजना हुँदैछ ।

चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

क्यूएफएक्सको छाया सेन्टरमा आयोजना हुने कार्यक्रममा ३ चिनियाँ फिल्म प्रदर्शन हुने तय छन् । जसमा यीहुई साओ निर्देशित ‘हर स्टोरी’ ओपनिङ फिल्मको रुपमा छ ।

युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन हुने तय भएको छ । फिल्म स्क्रिनिङपछि निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तक्रिया गर्नेछन् । समारोहको प्रमुख अतिथिको रुपमा पूर्वअर्थमन्त्री वर्षमान पुन हुने जनाइएको छ ।

प्रदर्शन हुने फिल्मका निर्माता, निर्देशक र कलाकार गरि १४ जनाको चिनियाँ भ्रमण टोलीको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ ले गर्ने छन । यस कार्यक्रमले दुवै देशका फिल्मकर्मीबीचको सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

आयोजकमध्येको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम दुई मुलुकको जीवन्त संस्कृतिलाई जोड्ने पुल हुने बताए ।

‘यो केवल फिल्म प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल हो’ उनले भने, ‘चिनियाँ फिल्मको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली फिल्मकर्मीलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्दैछौं ।’

उनले यस्ता कार्यक्रमले नेपाल र चीनको सांस्कृतिक कूटनीति र फिल्मको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने बताए । ‘यसले सह–निर्माण, संयुक्त परियोजना र विश्वव्यापी दर्शकलाई समेट्ने साझा कथा सिर्जना गर्न मार्ग प्रशस्त गर्छ । म विश्वस्त छु, यो नेपाल–चीन चलचित्र सम्बन्धको नयाँ अध्यायको सुरुवात मात्र हो’ उनले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -