काठमाडौँ । ई–स्पोर्टस सङ्घ नेपाल (इशान) को आयोजनामा दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप आगामी फागुन दोस्रो साता हुनेभएको छ ।
फागुन ८ देखि १० गतेसम्म काठमाडौँमा हुने उक्त च्याम्पियनसिपमा ई–फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई–स्पोर्टको छ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिनुभयो ।
प्रतियोगिताको छनोट चरणका खेलहरू अनलाइनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक उपस्थितिमा काठमाडौँको दशरथ रङ्गशालमा हुने आयोजकले जनाएको छ ।
अन्तिम चरणमा ई–फुटबलमा आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा दुई, डोटा टू र भ्यालोरेन्टमा ४–४ खेलाडी अन्तिम चरणमा सहभागी हुनेछन् ।
च्याम्पियनसिपको कूल पुरस्कार राशि रु २५ लाख रहेको छ । इशानका महासचिव पवन कार्कीले यो नेपाली ई–स्पोर्टकै सर्वाधिक पुरस्कार राशि रहेको बताउनुभयो । सोही राशिबाट छ विधाका विजेता, उपविजेतालाई पुरस्कार प्रदान गरिनेछ ।
च्याम्पियनसिपमा सहभागी हुन चाहने खेलाडीले यही पुस २० गते देखि खल्ती एपबाट नाम दर्ता गराउने सक्न र दर्ता निःशुल्क रहेको आयोजकले जनाएको छ ।