Saturday, January 11, 2025
घरसमाचारगलैँचा कारखानाबाट ८ जना बाल श्रमिकको उद्धार 

गलैँचा कारखानाबाट ८ जना बाल श्रमिकको उद्धार 

मकवानपुर । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित गलैँचा उद्योगबाट ८ जना बाल श्रमिकहरूको उद्धार गरिएको छ । 

डुमरबानास्थित सुष्मा गलैँचा उद्योगबाट १७ वर्षमुनिका ३ जना बालिका र ५ जना बालकको उद्धार गरिएको हो । 

श्रम तथा रोजगार कार्यालय वीरगंज, जीतपुर सिमरा उपमहानगरपालिका र सिविन नेपाल मकवानपुरको टोलिले शुक्रबार बाल श्रमिकहरूलाई उद्धार गरि बाल हेल्प लाइन हेटौँडाको आवासमा ल्याइएको सिविन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । 

संयोजक ज्ञवालीका अनुसार उद्धार गरिएका मध्ये मकवानपुरको राक्सिराङ् गाउँपालिकाका ३ जना र बाराको निजगढ नगरपालिकाका ५ जना रहेका छन् ।  

राक्सिराङ् गाउँपालिकाका सोम बहादुर बुलनले आफ्नो १४ वर्षीय छोरालाई गलैँचा कारखानाबाट उद्धार गरिदिन बाल हेल्प लाइनमा निवेदन दिएपश्चात् उनीहरूको उद्धार गरिएको उहाँले बताउनुभयो । 

संयोजक ज्ञवालीका अनुसार निवेदनपश्चात् अनुगमनका क्रममा बालबालिकाहरूलाई ठेकेदारमार्फत काममा लगाइएको, नेपाल सरकारले तोके बमोजिमको तलब नदिइएको, दिनमा १६ घण्टासम्म काम लगाइएको, कार्यस्थलबाट बाहिर आवतजावत गर्न प्रतिबन्ध गरेको, बालबालिकाहरूको खानपान बसाइ अति निकृष्ट प्रकारको रहेको, चरम श्रम शोषण भएको, आफूले भनेअनुसार काम नगर्ने बालबालिकाहरूलाई यातना समेत दिने गरेको पाइएको छ ।

उद्धार गरिएका बालबालिकाहरूसँग सोधपुछ तथा परामर्शको काम भइरहेको साथै बालबालिकाका अभिभावकहरूलाई सम्पर्कमा ल्याउन प्रयत्न भइरहेको र घटनालाई कानुनी प्रक्रियामा लैजान श्रम तथा रोजगार कार्यालयमा बालबालिकासहित अभिभावकलाई उपस्थितिको लागि पहल गरिने संयोजक ज्ञवालीले बताउनुभयो । 

अनुगमन टोलीमा श्रम तथा रोजगार कार्यालय वीरगंजका कार्यालय प्रमुख बलराम कुशवाह, जीतपुर सिमरा उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रमेश सुबेदी, रोजगार संयोजक मोहमद नसिमुलगनी, नगर प्रहरी सहायक निरीक्षक रविन कुमार खड्का, सिविन बाल हेल्प लाइन मकवानपुरका कार्यक्रम अधिकृत सम्झना अधिकारीलगायत रहनुभएको थियो । 

अनुगमनपश्चात् ८ जना बालबालिकाहरूलाई उद्धार गरि जीतपुर सिमरा उपमहानगरपालिकामा ल्याइएको र नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले, विभिन्न शाखा प्रमुखहरू, नगर प्रमुख सचिवालयका उदय श्रेष्ठ, श्रम कार्यालयका प्रमुख, बाल हेल्प लाइनका प्रतिनिधिसहित बैठक गरिएको थियो । 

बालिकाहरूसँग कुराकानी गरिएपश्चात् यो घटनाको कानुनी प्रक्रियाको लागि श्रम तथा रोजगार कार्यालय वीरगंजसँग समन्वय गर्ने र परामर्श तथा संरक्षणको लागि बाल हेल्प लाइन मकवानपुरमा पठाइएको जीतपुर सिमरा उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख रमेश सुबेदीले बताउनुभयो  । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -