१७ पुस, काठमाडौं । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ।
बुधबार प्रतियोगिताको लिग चरणको सम्पूर्ण खेलहरु समाप्त भएपछि समुह ‘ए’ बाट समुह विजेताको रुपमा क्रिकेट एक्सिलेन्स सेन्टर र उपविजेताको रुपमा चक्रवर्ती ल कलेज, समुह ‘बी’ बाट समुह विजेताको रुपमा किंग्स क्रिकेट एकेडेमी र उपविजेताको रुपमा स्टुडियो सेभेन क्वाटरफाइनलमा प्रवेश गरे ।
त्यस्तै समुह ‘सी’ बाट समुह विजेताको रुपमा टिम बिडीएस र उपविजेताको रुपमा बिएमडीएस तथा समुह ‘डी’ बाट समुह विजेताको रुपमा ग्रेट हिमालय क्रकेट एकेडेमी र उपविजेताको रुपमा मिक्समान्डु क्वाटरफाइनल पुगेका छन्।
काठमाण्डौ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न खेलहरूमा बिएमडीएस, हिमालयन क्रिकेट एकेडेमी, बिएमडीएस र चक्रवर्ती ल कलेज विजयी भए।
आजको पहिलो खेलमा बिएमडिएसले हिमालयन क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्यो। ६५ रनको लक्ष्य पछाएको हिमालयन क्रिकेट एकेडेमी ४२ रनमा अलआउट भए । प्लेयर अफ द म्याच घोषित बिएमडिएसका निरज भट्टले तीन विकेट लिनुको साथै १३ रन बनाए।
आजको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले कालिका वारियर्सलाई ६० रनले पराजित गर्यो। ७६ रनको लक्ष्य पछ्याउने क्रममा कालिका वारियर्स १५ रनमै समेटियो। प्लेयर अफ द म्याच घोषित हिमालयन क्रिकेट एकेडेमीका सुलभ न्यौपानेले चार विकेट लिए।
आजको तेस्रो खेलमा बिएमडीएसले कालिका वारियर्सलाई तीन विकेटले पराजित गर्यो। ४३ रनको लक्ष्य पाएको बिएमडीएसले आठ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित निरज भट्टले १७ रन बनाउनुको साथै तीन विकेट पनि लिए।
आजको चौथो खेलमा चक्रवर्ती ल कलेजले नवज्योति युथ क्लबलाई तीन विकेटले पराजित गर्यो। ६३ रनको लक्ष्य पाएको चक्रवर्ती ६.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित समर्पण अधिकारीले १२ रन बनाउनुको साथै एक विकेट पनि लिए।
प्रतियोगिताको क्वाटरफाइनल र सेमीफाइनल खेलहरु शुक्रबार हुनेछन् भने फाइनल खेल शनिबार हुनेछ। पहिलो क्वाटरफाइनलमा क्रिकेट एक्सिलेन्स सेन्टर र बिएमडीएस, दोस्रो क्वाटरफाइनलमा चक्रवर्ती ल कलेज र टिम बिडीएस बीच, तेस्रो क्वाटरफाइनलमा किंग्स क्रिकेट एकेडेमी र मिक्समान्डु तथा चौंथो क्वाटरफाइनलमा स्टुडियो सेभेन र ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्नेछन्।
लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।