पोखरा । पर्यटनको राजधानी पोखरामा हाल होटलहरुको अकुपेन्सि करिब ७० प्रतिशत रहेको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हिजो (मङ्गलवार) पोखरा क्षेत्रका पयटकीय होटलहरुको अकुपेन्सि ८० प्रतिशत रहेकोमा आज बुधबार भने ७० प्रतिशतमा झरेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो ।
पोखरामा यस बर्ष बेलुन महोत्सव र सडक महोत्सवले गर्दा पोखरामा पर्यटकहरूको बसाई अवधि लम्बिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । अघिल्ला बर्ष देखि सडक महोत्सवे डिसेम्बर २६ देखि करिब ५÷६ दिन मात्र पर्यटक चहल पहल हुने भए पनि यस बर्ष बेलुन महोत्सव डिसेम्बर २४ देखि सुरु भए पनि पोखरामा १ दिन अघि देखि नै चहल पहल बढेको उहाँले दाबी गर्नु भयो ।
पोखरामा यस सिजनमा केही दिन एकै मितिमा तीन वटा महोत्सवहरू परेकोले गर्दा पनि पोखरा क्षेत्रमा हालसम्म होटल अकुपेन्सि ८० देखि ८५ प्रतिशतसम्म पुगेको व्यवसायीहरू बताउनु हुन्छ । यही पुष ९ गते देखि १७ गतेसम्म पोखराको लौरुक तथा फेवाफाँटमा प्रथम अन्तर्राष्ट्रिय बेलुन महोत्सव, पुष १४ देखि १५ गतेसम्म पोखरामा सञ्चालन भएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोर्ट फेस्टिभल र यही पुष १३ देखि १७ गतेसम्म पोखरा सडक महोत्सवले गर्दा यसपाली पोखराको पर्यटन आगमनमा केही वृद्धि भएको अध्यक्ष सुवेदीले जनाउनु भयो ।
विदेशी पर्यटकहरूको हाल अफ्सिजन भएकोले अधिकांश तेस्रो र भारतीय पर्यटकहरू स्वदेश फर्किएकोले १० दीन अघि देखि आन्तरिक पर्यटकहरूको चहल पहल पोखरामा सुरु भएको अध्यक्ष सुवेदीले दाबी गर्नु भयो । सङ्घमा आबद्ध पर्यटकीय स्तरका ४ सय ५० वटा होटलहरुमा एकै रातमा कम्तीमा ४० हजार बेडमा पर्यटकहरूलाई व्यवस्थापन गर्न सकिने उहाँले जनाउनु भयो ।
होटल संघ पोखरा नेपालले आफ्ना सदस्य अन्तर्गतका होटल प्रतिष्ठानहरूमा अग्रेंजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको पोखरा सडक महोत्सवको अवसरमा होटल आवासमा २० प्रतिशत छुट दिएको रेवानले जनाएको छ ।
मङ्गलवार राति अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आतिसबाजी समेत गरिएको सडक महोत्सव संयोजक बिकास भट्टराईले बताउनु भयो । सडक महोत्सवमा करिब ४ लाख पर्यटक भित्रिएको रेवानले दाबी गरेको छ ।