१७ पुस, काठमाडौं । अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले चलाएको कारको ठक्करबाट कम्तीमा १० जनाको मृत्यु भएको । ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् ।
नयाँ वर्षको पहिलो दिन घटना भएको हो । मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार घटना आतंकवादसँग सम्बन्ध रहे–नरहेको अनुसन्धान भइरहेको छ ।
मानिसहरूको घुइँचोलाई लक्षित गर्दै ती व्यक्तिले कार हुइँकाएका थिए । घटना भएको स्थान न्यू अर्लिन्सको एक लोकप्रिय रात्रिजीवन गन्तव्य हो । त्यहाँ मानिसहरू नयाँ वर्षको स्वागतमा रमाइरहेका थिए ।
न्यू अर्लिन्सका मेयर लाटोया क्यान्ट्रेलले भने शहर ‘आतंकवादी हमलाबाट प्रभावित’ भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
समाचार संस्था सीएनएनले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मानिसहरूमाथि कार चलाएलगत्तै चालकले बन्दुकसमेत चलाएको उल्लेख गरेको छ । लगत्तै प्रहरीले जवाफी फायर गरेका थिए ।