Friday, January 10, 2025
घरसमाचार२०२४ मा नेपाली खेलकुद : पारालिम्पिकमा ऐतिहासिक पदक, क्रिकेट विश्वकपमा पुनरागमन

२०२४ मा नेपाली खेलकुद : पारालिम्पिकमा ऐतिहासिक पदक, क्रिकेट विश्वकपमा पुनरागमन

सन् २०२४ मा नेपाली खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरे । तीमध्ये केहीले उपलब्धी हासिल गरे भने केही सहभागितामै सीमित भए ।

१६ पुस, काठमाडौं । आज मंगलबार, अंग्रेजी वर्ष २०२४ को अन्तिम दिन । २०२५ लाई स्वागत गर्न तयारी गर्दै गर्दा सबै क्षेत्रमा सन् २०२४ को समीक्षा पनि चलिरहेको छ । सन् २०२४ मा नेपाली खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरे । तीमध्ये केहीले उपलब्धी हासिल गरे भने केही सहभागितामै सीमित भए ।

क्रिकेटमा पुरुषको सिनियर टिमले १० वर्षपछि टी–२० विश्वकप र यू–१९ टोलीले ८ वर्षपछि एकदिवसीय विश्वकप यसै वर्ष खेल्यो । यसैगरी, यू–१९ महिला टिमले पनि एसिया क्षेत्रको उपाधि जित्दै २०२५ मा हुने यू–१९ महिला टी–२० विश्वकपमा स्थान बनायो ।

पेरिस ओलम्पिक र पेरिस पारालिम्पिक पनि यही वर्ष भयो । पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक जितिन् । यसबाहेक भलिबल फुटबल र अन्य विभिन्न खेलकुदमा नेपाली खेलाडीहरूले सहभागिता जनाए । विभिन्न पदकहरू प्राप्त गरे ।

वर्ष २०२४ मा नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा प्राप्त गरेका मुख्य उपलब्धीहरू यस्ता छन् ।

क्रिकेटमय वर्ष
सन् २०२४ नेपाली क्रिकेटका लागि निकै सुखद रह्यो । नेपालको सिनियर टोलीदेखि उमेर समूहका टोलीहरूले ऐतिहासिक उपलब्धिसहित अन्य प्रतियोगितामा सफल प्रदर्शन गरे ।

नेपालको पुरूष राष्ट्रिय टोलीले १० वर्षपछि टी–२० विश्वकपमा सहभागिता जनायो । समूह चरणबाट अगाडि बढ्न नसके पनि नेपाली क्रिकेट टोलीको प्रदर्शनबारे विश्वव्यापी चर्चा भएको थियो ।

नेपालले समूह चरणमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । श्रीलंकासँगको खेल वर्षाले प्रभावित बनाए पनि नेपालले विश्वको टपमध्येको टिम दक्षिण अफ्रिकासँग पहिलोपटक खेल्यो ।

आठ वर्षपछि विश्वकप खेलेको नेपालले समूह चरणका एक खेल जितेको थियो भने सुपर सिक्समा कुनै पनि जित हात पार्न सकेन । यद्यपी, नेपालको प्रदर्शन राम्रो रह्याे

ऐतिहासिक जित हासिल गर्नबाट निकै झिनो अन्तरले चुक्दै नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भयो । अन्य खेलमा पनि नेपालले शानदार बलिङ प्रदर्शन गर्दै राम्रो चुनौती प्रस्तुत गरेको थियो ।

त्यसैगरी, नेपालको यू–१९ पुरूष टोलीले पनि आठ वर्षपछि विश्वकप खेलेको थियो । नेपालले समूह चरणका एक खेल जितेको थियो भने सुपर सिक्समा कुनै पनि जित हात पार्न सकेन । यद्यपि, नेपालको प्रदर्शन राम्रो रहेको थियो ।

महिला क्रिकेटतर्फ पनि नेपालका लागि ऐतिहासिक उपलब्धि प्राप्त गर्ने वर्ष रह्यो २०२४ । नेपालको यू–१९ महिला क्रिकेट टोलीले विश्वकप एसिया छनौट जित्दै २०२५ मा हुने आइसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउन सफल भयो ।

निकै लयमा देखिएको महिला यू–१९ क्रिकेट टोलीले यसै वर्षको अन्त्यमा यू–१९ टी–२० एसिया कप पनि खेलेको थियो जहाँ पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा स्थान बनाएको नेपाली टोली फाइनलमा भने पुग्न सकेन ।

महिला सिनियर टोलीले पनि एसीसी प्रिमियर कप क्रिकेट खेलेको थियो जहाँ सेमिफाइनलसम्मको यात्रा तय गर्दै तेस्रो भयो र टी–२० एसिया कपका लागि छनौट भयो ।

यसै वर्ष भएको टी–२० एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो । यद्यपी, समूह चरणबाट अगाडि भने बढ्न सकेन ।

यसैवर्ष पुरूषको यू–१९ टोलीले एसिया कप पनि खेलेको थियो जहाँ नेपालले समूह चरणमा एक खेल मात्र जित्दा त्यहाँबाट अगाडि बढ्न सकेन ।

पुरूष टोलीले पहिलोपटक हङकङ सिक्सेस प्रतियोगितामा सहभागिता जनाएको थियो, जहाँ अस्ट्रेलिया र इंग्ल्यान्डको टिमलाई नेपालले पराजित गरेको थियो । क्वार्टरफाइनलमा श्रीलंकासँग पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा यूएईसँग पराजित भयो ।

त्यसैगरी, पुरूष टोलीले एसीसी प्रिमियर कप खेलेको थियो जहाँ समूह चरणमा राम्रो प्रदर्शन गरे पनि सेमिफाइनलमा भने चिरपरिचित प्रतिद्वन्दी यूएईसँग पराजित हुँदै लगातार दोस्रोपटक एसिया कप खेल्नबाट भने चुक्यो ।

नेपालको सिनियर टोलीले २०२४ मा वेस्ट इन्डिज ‘ए’ सँग ऐतिहासिक घरेलु टी–२० शृङ्खला पनि खेल्यो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल आएको त्यो पहिलोपटक नै थियो । शृंखलामा नेपाल ३–२ ले पराजित भए पनि उक्त शृङ्खलाले नेपालको टी–२० विश्वकप सहभागिता अघिको तयारीमा ठूलो मद्दत गर्‍यो ।

त्यस्तै, सन् २०२४ मा नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ मा कुल तीनवटा एकदिवसीय शृंखला गरी १२ खेल खेलेको थियो ।

फेब्रुअरीमा नेपालमै भएको नामिबिया र नेदरल्यान्ड्ससँगको शृंखलामा नेपालले चारमध्ये एक खेल जितेको थियो भने सेप्टेम्बरमा क्यानडामा भएको ओमान र क्यानडासँगको शृंखलामा कुनै पनि खेल जित्न सकेन । त्यसलगत्तै भएको स्कटल्यान्ड र अमेरिकासँगको शृंखलामा नेपालले एक खेल मात्र जित्न सक्यो ।

सोही शृंखलाहरूमा नेपालले टी–२० आई पनि खेलेको थियो । अमेरिकामा भएको टी–२० शृंखलामा भने नेपाल क्लिन स्वीप नै गर्न सफल भयो ।

नेपालले यस वर्ष काभा भलिबलको चार नयाँ प्रतियोगितामा खेल्यो, जसमा नेपाली टिमले च्याम्पियन बन्नेदेखि कम्तीमा शीर्ष तीनमा पर्न सफल भयो ।

भलिबलमा सफल वर्ष
वर्ष २०२४ पनि नेपाली भलिबलका लागि ऐतिहासिक वर्ष बन्यो । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको पाँचवटै प्रतियोगितामा नेपालको टिमले पदक जित्न सफल भयो । त्यसमा पनि २०२४ मा काभाको दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाल आफैँले आयोजना गर्‍यो ।

नेपालले यस वर्ष काभाको चार नयाँ प्रतियोगितामा खेल्यो । जसमा नेपाली टिमले च्याम्पियन बन्नेदेखि कम्तीमा शीर्ष तीनमा पर्न सफल भयो ।

यस वर्ष नेपालले सुरुमा काभा वुमन्स नेसन्स लिग आयोजना गरेको थियो । जसमा नेपालले भारतलाई लिग चरणमा पराजित गर्दै सनसनी मच्चाएको थियो । तर, फाइनलमा अन्तिम सेटमा भारतसँग नै पराजित हुँदा उपाधि जित्ने सपना पूरा हुन सकेन ।

यसैगरी, पहिलोपटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको नेपाल पुलिस क्लबले अपराजित रहँदै उपाधि जित्यो ।

यसैगरी, घरेलु कोर्टमा भएको पुरुषतर्फको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपालको हेल्प नेपाल स्पोट्र्स क्लब उपविजेता बन्यो । नेपालबाट हेल्प नेपाल र गण्डकी प्रदेश दुई टिमले सहभागिता जनाए, पनि गण्डकी सेमिफाइनल पुग्न सकेन ।

हेल्प नेपालले फाइनलअघिसम्म सानदार प्रदर्शन गरे पनि फाइनलमा भारतीय क्लब क्यालिकट हिरोजसँग पराजित हुँदै घरेलु कोर्टमै उपाधि उचाल्ने मौका गुमाएको थियो ।

यस्तै, काभाले यसै वर्ष महिला र पुरुषको य–२० च्याम्पियनसिप आयोजना गरेको थियो । जसमा नेपाल पनि सहभागी भयो । श्रीलंकामा भएको काभा मेन्स य–२० भलिबल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक रजत पदक जित्यो । यसैगरी माल्दिभ्समा भएको काभा वुमन्स यू–२० भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो हुँदै कांस्य पदक जितेको थियो ।

फुटबलमा महिला टिमले पाएको चर्चा
फुटबलका लागि २०२४ पुरानै कथा दोहोरियो । साफ महिला च्याम्पियनसिप फेरि एकपटक घरेलु मैदानमै आयोजना हुँदा नेपाल फेरि उपविजेतामै सीमित भयो ।

त्यसअघि फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा पनि नेपाल उपविजेता बनेको थियो । तर, पहिलोपटक सहभागिता जनाएको वाफमा नेपालको महिला टिमले सानदार प्रदर्शन गर्दै फाइनल पुगेको थियो । फाइनलमा भने पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पराजित हुँदा उपाधिनजिक पुगेर पनि निराश बन्यो । तर, यस प्रतियोगिताबाट नेपाली महिला फुटबलले अन्तर्राष्ट्रियस्तरमा ठूलो चर्चा पायो ।

अक्टोबरमा घरेलु मैदानमा भएको साफ वुमन्सको फाइनलमा यसपटक पनि नेपाल बंगलादेशसँग नै पराजित हुँदा पहिलोपटक साफ महिला च्याम्पियन बन्ने चाहना अधुरै रह्यो । दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित भयो ।

नेपाल महिला फुटबलर भने अन्तर्राष्ट्रियस्तरमा यस वर्ष छाए । महिलातर्फ नेपालको लिग च्याम्पियन हैसियतले एपीएफले पहिलोपटक एएफसी वुमन्स च्याम्पियन्स लिगको छनोट चरण खेल्यो ।

तनावग्रस्त सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउट हराएर फाइनल पुगेको नेपाल बंगलादेशसँग फाइनलमा लगातार पराजित भयो । घरेलु मैदानमा पछिल्ला तीन साफ महिला च्याम्पियनसिपमा फाइनल पुगे पनि नेपालले उपाधि जित्न सकेन । उपविजेतामा ह्याट्रिक गर्‍यो ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनौटअन्तर्गत दोस्रो चरणमा नेपाल जितविहीन बन्यो । छनौटअन्तर्गत नेपालले २०२४ मा समूह चरणको चार खेल खेलेको थियो । जसमा नेपाल तीन खेलमा पराजित भयो । बहराइनमा खेलिएको होम एन्ड अवे खेलमा नेपाल क्रमशः ५–० र ३–० गोलले पराजित भयो ।

यस्तै, साउदी अरेबियामा भएको यूएईविरुद्धको खेल ४–० ले पराजित भएको नेपालले साउदीमै भएको यमनविरुद्धको अन्तिम खेल २–२ को बराबरीमा टुंग्याएको थियो । छनौटमा नेपालले गोल गरेको त्यही अन्तिम खेल थियो । जसमा कप्तान किरणकुमार लिम्बूले एक सयौँ क्याप पूरा गरेका थिए ।

नेपालको पुरुष राष्ट्रिय टिमले नोभेम्बरमा ताजकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेल्दा मिश्रित नतिजा बन्यो । पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको नेपालले त्यसपछि अफगानिस्तानलाई २–० ले पराजित गरेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा सात खेलपछि नेपालको त्यो पहिलो जित थियो ।

उमेर समूहमा नेपालको फुटबल फेरि कमजोर देखियो । घरेलु मैदानमै भएको साफ यू–२० पुरुष पुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भयो ।

महिला र पुरुष दुवैको उमेर समूहमा साफ र एसियालीस्तरमा नेपालको प्रदर्शन कमजोर देखियो । कुनै बेला बलियो रहेको नेपालको उमेर समूहको फुटबल अहिले कमजोर देखिन थालेको छ । ग्रासरुट फुटबल नै कमजोर हुँदा अन्तर्राष्ट्रियस्तरमा पनि उमेर समूहमा नेपाल चुक्दै आएको छ ।

यस्तै, एसियाली क्लबस्तरमा पनि नेपाली क्लबको प्रदर्शन कमजोर रह्यो । नेपालको लिग च्याम्पियन चर्च ब्वाएइज एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमै भुटानको पारो एफसीसँग दशरथ रंगशालमा २–१ ले पराजित हुँदा अघि बढ्न सकेन ।

नेपाल महिला फुटबलर भने अन्तर्राष्ट्रियस्तरमा यस वर्ष छाए । महिलातर्फ नेपालको लिग च्याम्पियन हैसियतले एपीएफले पहिलोपटक एएफसी वुमन्स च्याम्पियन्स लिगको छनोट चरण खेल्यो । तर, समूह चरणमा जितविहीन बनेपछि एपीएफ मुख्य समूहमा प्रवेश गर्न सकेन ।

नेपाली महिला फुटबलर साबित्रा भण्डारी, एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल भने विदेशी लिगमा खेलिरहेका छन् ।

पारालिम्पिकमा पदक
सन् २०२४ को पारालिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक पदक जितिन् ।

२०२४ को सुरूवातमा भएको छनोट चरण पार गरेर पलेशा पारालिम्पिकमा पुगेकी थिइन् । चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोटमा स्वर्ण जित्दै पारालिम्पिकमा छनोट भएकी पलेशाले पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धामा कांस्य पदक जितिन् । यो नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

फ्रान्सको पेरिसमा भएको ३३औं गृष्मकालीन ओलम्पिकमा भने नेपाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल र पौडीका एलेक्स शाह र डुवाना लामा आआफ्नो इभेन्टमा पहिलो चरणबाटै बाहिरिए ।

एलेक्सले आफ्नो इभेन्टमा राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक पेरिसमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक रह्यो । महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९औं स्थानमा रहेर दौड पूरा गरिन् ।

बास्केटबल
बास्केटबलमा नेपालले २०२४ मा ठूलो प्रतियिगता खेल्न पाएन । तर पुरुषको थ्री एक्स थ्री टिम र महिला राष्ट्रिय टिमले एक–एक अन्तर्राष्ट्रियस्तरको उपाधि भने जित्यो ।

नेपाली राष्ट्रिय थ्री एक्स थ्री पुरुष बास्केटबल टोलीले ‘मे’ महिनामा चीनको युनानमा भएको युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोट्र्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक जितेको थियो ।

नेपालले गत वर्षको विजेता युनानको प्रोभिन्स टिमलाई प्रतिस्पर्धात्मक फाइनलमा २०–१९ हराउँदै उपाधि जितेको हो ।

विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीमा निकेश मगर, मनिस केसी र निश्चल महर्जन थिए भने प्रशिक्षकमा सुशील गुरुङ थिए ।

यसैगरी, यही वर्ष नेपाली महिला बास्केटबल टिमले सिक्किममा भएको स्टेट लेभल बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ उपाधि जित्यो ।

अनुशा मल्लको कप्तानीमा रहेको नेपाली महिला टोली गान्तोकस्थित पाल्जोर स्टेडियम कम्प्लेक्सको इन्डोर बास्केटबल कोर्टमा भएको फाइनलमा सिलोङ लाबोटलाई ५९–२७ ले पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाली टोली नयाँ युवा खेलाडीहरू समावेश भएकोले उनीहरूको लागि अन्तर्राष्ट्रियस्तरमा पहिलो प्रतियोगिता थियो ।

कराते
नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङ वर्ष २०२४ मा पनि अन्तर्राष्ट्रियस्तरमा छाइन् ।

करातेको एसियन च्याम्पियनसिपदेखि वल्र्ड च्याम्पियनसम्म खेलेकी उनले यस वर्ष एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितिन् । एसियन कराते च्याम्पियनसिपको महिला ६८ केजीमाथि तौल समूहमा एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसंग ६–० ले पराजित भएकी थिइन् ।

एरिकाले १९ औं एसियाडको स्वर्ण विजेतालाई समेत हराएर फाइनल पुगेकी थिइन् । तर, एक दिनपछि फाइनल खेल्दा उनी पराजित भइन् ।

एरिकाले जितेको रजत कुनै पनि नेपाली कराते खेलाडीले एसियास्तरमा सिनियर करातेमा जितेको पहिलो पदक हो । यसअघि नेपालकी एस्तर राईले सन् २०१८ मा जापानमा भएको एसियाली कराते च्याम्पियनसिपमा यू–२१ उमेर समूहमा कांस्य पदक जितेकी थिइन् ।

यस्तै, दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितिन् । पहिलोपटक वल्र्ड च्याम्पियनसिपमा सहभागी भएकी उनी पदकसम्म भने पुग्न सकिनन् ।

२०२३ मा चीनमा भएको १९औं एसियाडमा करातेमा ऐतिहासिक रजत जितेपछि एरिका नेपाली करातेमा नयाँ स्टार बनेर उदायकी थिइन् ।

र्‍याफ्टिङ
मार्चमा भारतमा भएको डब्लुआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको थियो ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड)मा घरेलु टोली भारतलाई नै पछि पार्दै स्वर्णपदक जितेको हो । उक्त स्पर्धामा नेपालले एक सय २० अंक जोड्दै स्वर्णपदक जितेको हो ।

गल्फ
गल्फमा पनि वर्ष २०२४ नेपालका लागि ऐतिहासिक रह्यो । नेपालका नम्बर वान एमेच्योर गल्फर सद्भाव आचार्यले फाल्डो सिरिजमा ऐतिहासिक उपलब्धी हासिल गरे ।

नोभेम्बरमा युएईको अबुधाबीमा भएको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनलको यू–२१ तर्फ उपाधि जिते । यो प्रतियोगिता जित्ने उनी पहिलो नेपाली खेलाडी पनि बने । यस्तै, ओभरअलमा भने उनी उपविजेता बने ।

अल आइन इक्वेस्टेरियन सुटिङ एन्ड गल्फ कोर्समा सद्भावले ५ अन्डर २०५ को स्कोर गर्दै च्याम्पियन बनेका थिए । उनले डेनमार्कका भिक्टोर कोफोर्ड उसलेनलाई २ स्ट्रोकले पछाडि पारेका थिए ।

यू–१६ ब्वाइजमा नेपालबाट जयवीर आचार्य ११औं र यू–१६ गल्र्समा आइस्टिना टन्डन नवौं स्थानमा रहे । प्रतियोगितामा युरोपसहित मिडल इस्ट र एसियाबाट ७० जुनियर गल्फरको सहभागिता थियो ।

एथ्लेटिक्स
नेपाली एथ्लेटिक्सकी गोल्डेन गर्लसको रूपमा परिचित सन्तोषीले श्रेष्ठले वर्षको सुरुमै अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेकी थिइन् । जनवरी अन्तिम साता बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा उनले महिला म्याराथनतर्फ स्वर्ण जितेकी हुन् । उनले अन्तर्राष्ट्रिय म्याराथनको डेब्युमै कीर्तिमानी टाइमिङसहित उपाधि जितेकी हुन् ।

कबड्डी
यस वर्ष नेपालको कबड्डी टिमले पनि अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्‍यो । धनश्याम मगरको कप्तानीमा रहेको नेपालको पुरुष टिम बंगलादेशमा भएको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा उपविजेता बनेको थियो ।

ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५–३१ ले पराजित भएको थियो ।

१२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता तथा बंगलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो । बंगलादेशले भने सेमिफाइनलमा थाइल्यान्डलाई पराजित गरेको थियो । यस प्रतियोगितामा नेपालका कप्तान धनश्याम उत्कृष्ट खेलाडी घोषित भए ।

शारीरिक सुगठन
शारीरिक सुगठन अर्थात् बडिबिल्डिङ खेलाडीले पनि वर्ष २०२४ मा अन्तर्राष्ट्रिय उपलब्धी हासिल गर्‍यो ।

माल्दिभ्समा नोभेम्बर पहिलो साता भएको १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स  च्याम्पियनसिपमा नेपालले चार रजत पदक जितेको थियो ।

नेपालबाट रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

यसबाहेक पनि २०२४ मा नेपाली खेलकुदले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । जसमा टेबलटेनिस, मुवाँथाइ, सेपाकताक्रो, बक्सिङ, तेक्वान्दो, उसु, फेन्सिङ, हक्की, ह्यान्डबल, मोटर स्पोर्टर्स, किक बक्सिङ, जुडो, पेन्ठाथलनलगायत प्रतियोगितामा पनि नेपालले पदक जितेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -